
तेलुगू फिल्म इन्डस्ट्रीमा निकै रुचाइएको जोडी सामन्था अक्किनेनी र नागा चैतन्यबीच डिभोर्स हुनुमा बलिउड अभिनेत्री कंगना रनोटले बलिउड अभिनेता आमिर खानलाई दोषी ठहराएकी छन् । उनले आमिरलाई ‘डिभोर्स विशेषज्ञ’ को संज्ञा समेत दिएकी छन् । आमिरसँँग बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गरेपछि नागाले सामन्थालाई डिभोर्स दिने निर्णय गरेको उनको आशय छ ।
उनले आइतावर सोसल मिडियामा एक पोस्ट गर्दै लेखेकी छन्, ‘आफ्नो पत्नीलाई अचानक डिभोर्स दिने साउथ एक्टर ४ वर्षसम्म बैबााहिक जीवन र १० वर्षभन्दा बढी रिलेशनसिपमा थिए । हालै उनी एक हलिउड सुपरस्टार (आमिर खान) को सम्पर्कमा आएका थिए, जसलाई ‘डिभोर्स विशेषज्ञ’ रुपमा पनि चिन्ने गरिन्छ । उनले कयौं महिला र बच्चाको जिन्दगी बर्बाद बनाएका छन् ।’
हरेक विषयमा स्पष्ट बोल्ने गरेकी कंगनाले यसअघि सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा पनि आमिर खानलाई मुछेकी थिइन् । फिल्म ‘पीके’ मा सँगै काम गरेको पूर्वसहकर्मीको मृत्यु रहस्यमयी बन्दै गइरहेका बेला एक शब्द पनि नबोलेको भन्दै उनले आमिरलाई बलिउडको ‘गिरोह’ भनेकी थिइन् । उनको बलिउडका नाम चलेका प्रायः कलाकारसँग पानी बारबारको सम्बन्ध छ ।
शनिवार सामन्थाले एक आधिकारिक बयान जारी गर्दै आफू र नागाले अलग हुने निर्णय गरेको जानकारी दिएकी थिइन् । उनीहरुले २०१७ अक्टूबर ६ मा १० करोड खर्चेर गोवामा विवाह गरेका थिए । डिभोर्सपछि जीवन चलाउन नागाको तर्फबाट समान्थालाई ५० करोड मिल्नेछ । सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’ सुटिङ सेटमा भएको थियो ।

