Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर २’ : दश हजार दर्शकको साथमा रोयल अल्बर्ट हलमा प्रिमियर !

फिल्मीखबर, काठमाडौं, 2021/10/03
गत हप्ता बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘नो टाइम टू डाई’ को रेडकार्पेट प्रिमियर भयो । उक्त समारोहमा फिल्मका अभिनेता डेनियल क्रेगदेखि बेलायती राजकुमार प्रिन्स विलियम र राजकुमारी केट मिडलटनसम्मको उपस्थिति रहेको थियो । यो हलमा विश्वका ठूला कन्सर्टदेखि फिल्मसम्म प्रदर्शन हुने गर्दछन् ।
 
सन् १८७१ मा आफ्ना पति प्रिन्स अल्बर्टको नामबाट रानी भिक्टोरियाले बनाएको यो ऐतिहासिक हलमा कन्सर्ट वा फिल्म प्रदर्शन गर्नका लागि तीन वर्षको ‘क्यु’ मा बस्नुपर्छ । हलिउड/बलिउडदेखि संसारकै प्रसिद्ध हस्तीहरूको ‘सपना’ रहेको यो हलमा २०७२ सालमा पहिलो पटक नेपाली सांगीतिक प्रस्तुति भएको थियो । तर, आजसम्म यहाँ नेपाली फिल्म प्रिमियर भएको इतिहास छैन । 
 
 
निर्देशक मिलन चाम्सको भने रोयल अल्बर्ट हलमा आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर २’ को वर्ल्ड प्रियिमर गर्ने सपना छ । यसका लागि उनले लामो समयदेखि २०२२ का लागि हल ‘बुक’ गर्न प्रयास गरिरहेका छन् । उनी भन्छन्, ‘म अहिले नै ठोकुवा त गर्न सक्दिनँ तर यही हलमा फिल्मको प्रिमियर हुनसक्छ । फिल्मको छायांकन सकिएपछि हल पक्का गर्न बेलायत जाने तयारीमा छु ।’
 
निर्देशक चाम्सको सपना रोयल अल्बर्ट हलमा फिल्मको प्रिमियर गर्ने मात्र छैन, उक्त समारोहमा १० हजार दर्शकको उपस्थिति गराउने योजना पनि उनको छ । उनी भन्छन्, ‘फिल्म गोर्खाली सैनिकको कथामा बन्न लागेको हो । बेलायतमा सबैभन्दा बढी सम्मान नै गोर्खाली सौनिकको हुन्छ । यसैले फिल्मको प्रिमियरमा १० हजार दर्शकको उपस्थिति गराउन सकिन्छ भन्ने लागेको छ ।’
 
रोयल अल्बर्ट हलमा फिल्मको प्रिमियर गर्न लाग्ने खर्चले नेपालमा ५ वटा महंगा फिल्म बन्न सक्छ । यति ठूलो खर्चमा प्रिमियर गर्न आवश्यक छ ? भन्ने प्रश्नमा निर्देशक चाम्स भन्छन्, ‘यो हलमा फिल्म प्रिमियर गर्दा पैसा त ठूलै खर्च हुन्छ तर मेरो उद्देश्य नेपाली फिल्मलाई विश्वमाझ चिनाउनु र गोर्खाली सैनिकको विरता संसारलाई देखाउनु हो ।’ फिल्मको कात्तिकबाट छायांंकन सुरु हुँदैछ ।
 
दोस्रो चरणको कोरोना महामारीअघि फिल्मको ३० प्रतिशत छायांकन सकिएको थियो । अब बाँकी छायांकन नेपाल, मलेशिया र बेलायतमा हुनेछ । बेलायतमा भने फिल्मका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । 
Most Visited News (monthly)