Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीका मल्टीप्लेक्सले घोषणा गरे फिल्मको रिलिज लाइनअप

फिल्मीखबर, काठमाडौं, 2021/10/01
कोरोना महामारीका कारण महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु यही असोज २१ गतेबाट खुल्दैछन् । काठमाडौंसहित विभिन्न जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ नेपाली फिल्म नहुँदा हल बन्दै थिए । अब विदेशी फिल्म चलाएर सिनेमा हल खुल्ने तयारी गरिएको छ ।
 
प्रशासन कार्यालय हल खोल्न अनुमति दिनुभन्दा अगावैदेखि हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले दशैंबाट नियमित फिल्म रिलिज गर्नका लागि निर्मातासँग दिनहुँ छलफल गरेको थियो । तर, निर्माताहरुले माटो एमजी मागेपछि प्रदर्शकहरु पछाडि हटे । यस्तैमा बलिउड फिल्मले भकाभक रिलिज डेट घोषणा गरेपछि उनीहरुले राहतको सास फरेका छन् ।
 
नेपाल चलचित्र संघको निर्णय बमोजिम यही असोज २१ गतेबाट हल खोल्न सञ्चालकहरु तयार देखिएका छन् । राजधानीका प्रायः मल्टीप्लेक्सहरुले त फिल्मको रिलिज लाइनअप पनि घोषणा गरिसकेका छन् । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले हल खुलेको पहिलो दिन (घटस्थापना) हलिउडको दुई बहुप्रतिक्षीत फिल्म ‘नोबडी’ र ‘फस्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्ने भएको छ । 
 
 
१४ अक्टोबरबाट भने हलिउडकै ‘नो टाइम टू डाई’ प्रदर्शन हुनेछ । क्यूएफएक्स चेनले यी कुनै पनि फिल्मलाई शोज बाँडफाँड र अग्रिम बुकिङ खुल्ला गरिसकेको छैन । यसले आफ्नो वेब साइटमा असोज २६ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘डाँडाको वरपीपल’ को भने पोस्टर राखेको छैन । मल्टीप्लेक्सले नेपाली फिल्मलाई गर्ने व्यवहार कस्तो छ यसबाट पनि धेरै बुझ्न सकिन्छ । 
 
नयाँ वानेश्वरमा रहेको वान सिनेमाज्ले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनाबाट रिलिज हुने फिल्मको जानकारी दिएको छ । दुई अडिटोरियमको यो नयाँ मल्टीप्लेक्सले घटस्थापनमा ‘फस्ट एन्ड फ्यूरियस ९’ र महानवमीबाट ‘नो टाइम टू डाई’ रिलिज गर्दैछ । तर, यसले पनि वेब साइटमा हलिउड फिल्मको मात्र पोस्टर राखेको छ, ‘डाँडाको वरपीपल’ को पोस्टरलाई स्थान दिएको छैन ।
 
कमलपोखरीको सिटी सेन्टरमा रहेको तीन अडिटोरियमको विग मुभिजले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनामा हलिउड फिल्म ‘फस्ट एन्ड फ्यूरियस ९’, १४ अक्टोबर (नवमी) मा ‘नो टाइम टू डाई’ र अक्टोबर २९ (कार्तिक १२) मा ‘क्यान्डिम्यान’ रिलिज गर्ने जनाएको छ । चाबहिलको एफक्यूबले भने क्यूएफएक्सले झैँ घटस्थापनामा ‘नोबडी र फस्ट एन्ड फ्यूरियस ९’ रिलिज गर्दैछ । 
 
त्यस्तै, सुनधारामा अवस्थित सिडिसी सिनेमाज्ले घटस्थापनामा ‘फस्ट एन्ड फ्यूरियस ९’ मात्र रिलिज गर्ने भएको छ । यसले आफ्नो वेब साइटमा ‘डाँडाको वरपीपल, नो टाइम टू डाई, सूर्यवंशी, आरआरआर र केजिएफ २’ फिल्मलाई ‘कमिङ सून’ मा राखेको छ । क्यूज सिनेमाज्, आइएनआई लोटस सिनेमाज्, मन्नू सिनेमा हलमा पनि घटस्थापनाबाट ‘फस्ट एन्ड फ्यूरियस ९’ नै रिलिज हुँदैछ ।
Most Visited News (monthly)