Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाश झाकी छोरीसँग मिलेर बलिउड फिल्म बनाउँदै चन्द्र पन्त

फिल्मीखबर, काठमाडौं, 2021/09/30
नेपाली फिल्ममा द्वन्द्व निर्देशन (एक्सन) मा आफूलाई अब्बल सावित गरिसकेका चन्द्र पन्त अचेल भोजपुरी फिल्म निर्देशनमा व्यस्त छन् । दिनेशलाल यादव ‘निरहुवा’ लाई लिएर फिल्म ‘निरहुवा चलल लण्डन’ बाट निर्देशकको रुपमा डेब्यू गरेका उनले गत महिना फिल्म ‘माही’ को छायांकन पूरा गरेका थिए । उनले भोजपुरी फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिँदै आएका छन् । 
 
अब उनी बलिउड फिल्म निर्माण गर्ने तयारीमा छन् । त्यो पनि भारतको नामी ब्यानर ‘प्रकाश झा प्रोडक्सन’ सँग मिलेर । यो ब्यानर ‘गंगाजल, सत्याग्रह, जय गंगाजल, आश्रम सिरिज’ का निर्देशक प्रकाश झाको हो । उनकी छोरी दिशा झाले निर्माण गर्न लागेको फिल्म ‘कोनम्यान’ मा चन्द्र पन्त कार्यकारी निर्माताको रुपमा रहेका छन् । गत हप्ता फिल्मको कानपूरमा घोषणा गरिएको थियो ।
 
 
साइबर क्राइमको कथामा आधारित भएर निर्माण हुन लागेको उक्त फिल्मको ७ अक्टोबरबाट कानपूरमा छायांकन सुरु हुनेछ । प्रिन्स धीमनले निर्देशन गर्ने फिल्ममा भारतीय अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमनको मुख्य भूमिका रहनेछ । प्रकाश झा प्रोडक्सन र एविसी ग्यालेक्सीको ब्यानरमा बन्ने यस फिल्ममा अरुण कुमार मिश्र सह-निर्माता र मनोज जैसवाल निर्मातामा छन् । 
 
चन्द्र पन्तले फिल्ममा नेपाली कलाकारलाई पनि अवसर दिइने बताए । उनले भने, ‘मैले भोजपुरी फिल्ममा नेपाली कलाकारलाई आजसम्म छुटाएको छैन । अब बन्ने दुईटा भोजपुरी फिल्ममा पनि नेपाली कलाकारलाई लिने योजनामा छु । मैले बनाउने बलिउड फिल्ममा पनि नेपाली कलाकारलाई राख्न छलफल भइरहेको छ । केही दिनमै नेपालबाट अभिनय गर्ने कलाकारको टुंगो लाग्नेछ ।’
 
‘कोनम्यान’ पछि ‘प्रकाश झा प्रोडक्सन’ को ब्यानरमा बन्ने नयाँ चलचित्रको आफूले निर्देशन गर्ने सम्भावना रहेको उनले जानकारी दिए । उनी भोजपुरी फिल्म निर्देशनबाट भने चाँडै विदा लिने सोचमा छन् । अब अन्तिम दुईवटा मात्र भोजपुरी फिल्म निर्देशन गरेर बलिउड फिल्ममा पाइला टेक्ने उनको तयारी छ । उनी आउँदो वर्ष नेपाली फिल्म निर्देशनमा पनि डेब्यू गर्ने योजनामा रहेका छन् ।
Most Visited News (monthly)