
बलिउड अभिनेता रणबीर कपूर मंगलवार आफ्नो ३९औं जन्मदिन मनाइरहेका छन् । नीतू कपूर र स्वर्गीय ऋषि कपूरको कोखबाट जन्मिएका उनी बलिउडको सबैभन्दा पुरानो कपूर खानदानको चौथो पिढी हुन् । उनले आजसम्म बलिउडका कयौं अभिनेत्रीलाई डेट गरिसकेका छन् । तर, कसैसँग उनको लामो समय प्रेम टिक्न सकेन । यसैले उनलाई प्रेममा असफल नायक भन्ने गरिन्छ ।
कुनै बेला उनी अभिनेत्री दीपिका पादुकोणको प्रेममा थिए । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेम पलाएको थियो । भारतीय मिडियाका अनुसार, रणबीरले दीपिकालाई चिट गरेका थिए, जसले गर्दा उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो । रणवीरसँग ब्रेकअपपछि दीपिकाले रणवीर सिंहसँँग बिहे गरिन् । उनीहरु अभिनीत ‘ये जवानी है दीवानी’ फिल्म निकै सफल भएको थियो ।
दीपिकापछि रणबीरको नाम अभिनेत्री कटरीना कैफसँग जोडियो । फिल्म ‘अजब प्रेम की गजब कहानी’ मा एकसाथ काम गरेपछि उनीहरु प्रेममा परेका थिए । कटरीनाले रणबीरका लागि सलमान खानलाई धोका दिएको समेत त्यसबेला निकै चर्चा चलेको थियो । तर, उनीसँग पनि रणबीरको लामो समय प्रेम टिक्न सकेन । कोही तेस्रो व्यक्तिका लागि उनीहरुको सम्बन्ध विग्रिएको बताइन्छ ।
फिल्ममा आउनुभन्दा पहिला रणबीरको प्रेमिका अवंतिका मलिक थिइन् । तर, केही कारणले गर्दा उनीहरुको सम्बन्ध टुटेको थियो । यसपछि अवंतिकाले अभिनेता इमरान खानसँग बिहे गरिन् । अमीषा पटेल, नरगिस फाखरी, प्रियंका चोपडा र सोनम कपूरलाई पनि डेट गरेका रणबीर पछिल्लो समय अभिनेत्री आलिया भट्टको प्रेममा छन् । उनीहरु विवाह गर्ने तयारीमा रहेको समेत चर्चा छ ।

