
कोरोना महामारीको लहर नेपालसम्म नआएको हुन्थ्यो भने फिल्म ‘प्रेम गीत ३’ बाट नायकको रुपमा डेब्यू गरेका मनिष राउतको कामको मुल्यांकन भइसकेको हुने थियो । तर, कोरोनाले गर्दा निर्माण सकिएको दुई वर्ष भइसक्दा पनि फिल्म प्रदर्शनमा आउन सकेको छैन । यस वर्ष पनि फिल्म रिलिज हुने सम्भावना न्यून छ । २०७६ चैत २८ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो ।
‘प्रेम गीत ३’ रिलिज नहुँदै मनिषले दोस्रो फिल्म साइन गरिसकेका छन् । तर, यो फिल्म पनि कोरोनाका कारण छायांकनमा जान सकेको छैन । पहिलेको जस्तै गरी फिल्मको काम सुरु हुने अन्योल हुँँदा उनले निर्देशन विधामा आफ्नो उपस्थिति जनाएका छन् । केही हप्तादेखि उनले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ को निर्देशन गरिरहेका छन् । निर्देशनमा उनको यो पहिलो अनुभव हो ।
काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले निर्माण गरेको उक्त शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने मनिषले बताए । ‘इएफए इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा सार्वजनिक हुने यो स्टान्डअप अरु शोभन्दा पृथक रहने निर्देशक राउतले बताए । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहनेछ ।
छायाँकार गौरि शङ्कर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाइरहेका छन् । यसका सम्पादक रोहन कुमाल हुन् भने निर्मातामा विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी रहेका छन् । निर्देशक मनिषले एकेडेमीसँगको सहकार्यमा विभिन्न सिरिज र चलचित्रहरु बनाउने बताए । उनले अस्कार कलेजमा फिल्म मेकिङ पढेका हुन् ।

