Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवेक्षाको कमब्याक

फिल्मीखबर, काठमाण्डौ, 2021/09/25
 
ठूलो पर्दासम्मको बाटो तय गर्न सुन्दरी प्रतियोगिता एउटा राम्रो प्लेटफर्म बन्ने गरेको छ । मिस नेपाल लगायतका प्रतियोगितामा मुख्य उपाधि जितेका धेरै सुन्दरीहरु नेपाली फिल्ममा नायिका बनेका छन् । सृष्टि श्रेष्ठ, मलिना जोशी, निकिता चाण्डक, झरना बज्राचार्य लगायत यसका उदाहरण हुन् । तर, सुन्दरी प्रतियोगिताबाट आएका एकाधले मात्र फिल्ममा सफलता पाएका छन् । 
 
२०७५ सालमा फिल्म ‘रणवीर’ बाट नायिकाको रुपमा डेब्यू गरेकी सुवेक्षा खड्का पनि सुन्दरी प्रतियोगीताबाटै आएकी हुन् । उनी मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन् । फिल्म रिलिजपूर्व उनलाई धेरैले सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका थिए । निर्माण टिमले पनि फिल्मको प्रचार-प्रसारमा उनलाई नै प्राथमितामा राखेको थियो ।
 
तर, फिल्म रिलिजपछि उनीभन्दा कम ‘स्क्रिन स्पेश’ पाएकी अभिनेत्री सुपुष्पा भट्ट चम्किइन् । दर्शक र समीक्षकले सुवेक्षाभन्दा सुपुष्पाको अभिनयलाई बढी रुचाए । यो फिल्मपछि सुपुष्पालाई फिल्म र म्यूजिक भिडियोमा काम गर्न भ्याइनभ्याइ हुन थाल्यो तर सुवेक्षालाई भने दोस्रो फिल्म पाउनै तीन वर्ष लागेको छ । विगत दुई हप्तादेखि उनी फिल्म ‘प्रेमा’ को छायांकनमा व्यस्त छिन् ।
 
फिल्मलाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् । ‘प्रेमा’ मा आबद्ध भएपछि सुवेक्षाले हरेक फिल्म झैँ यो फिल्मले पनि आफ्नो मुटुमा विशेष स्थान बनाएको उल्लेख गरेकी थिइन् । निर्देशक भण्डारीबाट आफूले धेरै सिक्न पाएको बताउँदै उनले यो प्रोजेक्टमा आफूलाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेकी छन् । फिल्ममा उनी टाइटल क्यारेक्टरमा छिन् ।
 
Most Visited News (monthly)