
बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले प्रदर्शनको २५औं वर्ष पूरा गरेको छ । २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मलाई भारतीय दर्शकले अत्याधिक रुचाएका थिए । शाहरुख खान र काजोल अभिनीत यो फिल्मको हरेक एक दृश्य र संवाद दर्शकलाई अझै कण्ठस्थ छ । तर, यो फिल्मको सेटमा एकपटक काजोललाई निर्देशक आदित्य चोपडाले गाली गरेका थिए ।
काजोलले सुरुमा सिमरनको क्यारेक्टरलाई सामान्य रुपमा लिइरहेकी थिइन् । उनले कयौं पटक यो पुरानो जमानाको क्यारेक्टर हो भनेकी थिइन् । लण्डनमा हुर्के-बढेकी युवती आफ्नो पिताको बोली काट्न नसकेर गाउँको केटासँग कसरी विवाह गर्न सक्छे ? भनेर उनले आदित्यलाई धेरै पटक सोधेकी थिइन् । आदित्यले उनलाई काजोल नभएर सिमरन बन्ने कोशिश गर्न सुझाएका थिए ।
त्यस्तै, फिल्ममा ‘जरा सा झूम लूं’ गीतपछि काजोल नशामा डुब्छिन् र अर्को दिन शाहरुख खानले उनको मजाक उडाउँछन् । यो सिनमा काजोल कन्फ्यूज र रुनु पर्ने थियो । तर, उनी हाँसिरहेकी थिइन् । जसका कारण दश पटक रिटेक भएको थियो । यसपछि आदित्यले उनलाई काम गर्ने इच्छा नभए फिल्म छाडेर जान भन्दै गाली गरेका थिए । आदित्यको गालीले उनी निकै रोएकी थिइन् ।
आदित्यले गाली गरेपछि काजोलले फिल्म छाड्ने फैसला लिएकी थिइन् । तर, उनलाई आदित्यका पिता यश चोपडाले फिल्ममा यो सिन महत्त्वपूर्ण भएका कारण आदित्य चिन्तित रहेको बताएपछि काजोलले अर्को दिन सेटमा पुगेर उक्त सिन दिएकी थिइन्, जुन एक टेकमा नै ओके भएको थियो । यो सिन गरेपछि उनले आफूलाई सिमरन जस्तो महशुस गर्न थालेको बताएकी थिइन् ।

