.jpg)
पछिल्लो समय भकाभक सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहेको अवस्थामा गत वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको फिल्मको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । फिल्मको निर्माण भने तत्काल नहुने उनले बताए ।
निर्माता अधिकारीले भने- ‘दर्शकहरुले ‘छ माया छपक्कै’ को सिक्वेलको माग गर्नुभएका कारण हामी त्यसको तयारीमा जुटेका हौं । फिल्मको निर्माण केही समयपछि हुने भए पनि स्क्रिप्टमा काम सुरु भएको छ । यसपटक पनि फिल्ममा कमेडीसँगै गम्भीर विषय उठाइनेछ ।’ उनका अनुसार, फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । ‘छ माया छपक्कै’ को निर्देशन पनि उनैले गरेका थिए ।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिम कोभिड १९ को महामारी सामान्य भएपछि ‘छक्का पञ्जा ४’ निर्माण गर्दैछ । त्यस्तै, निर्माता रोहित अधिकारी निर्देशक दिनेश राउतसँग नयाँ फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा अभिनेता अनमोल केसीले अभिनय गर्ने चर्चा छ । दुवै टिमको पाइपलाइनमा रहेका फिल्मको छायांकन पूरा भएपछि ‘छ माया छपक्कै २’ को निर्माण हुनेछ ।
रोहितले फिल्मको सिक्वेलमा कलाकार परिवर्तन हुनसक्ने बताए । उनले भने- ‘दीपकराज दाई फिल्ममा सोलो हिरो बन्न सक्नुहुन्छ । यद्यपि, अहिले हामी छलफलकै चरणमा छौं ।’ दीपक-दीपाको टिमले मुनाफाको ५० प्रतिशत लिने सहमतिमा ‘छ माया छपक्कै’ गरेको थियो । फिल्ममा रोहित एक्लैको लगानी थियो । उनले यसअघि अनमोल केसीलाई लिएर फिल्म ‘गाजलु’ बनाएका थिए ।

