Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु

फिल्मीखबर, काठमाण्डौ, 2020/10/17
 
अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले पहिलो पटक स्क्रिन शेयर गर्न लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु भएको छ । निर्माण घोषणाको २ वर्षपछि फिल्मको छायांकन सुरु भएको हो । घटस्थापनाबाट पहिलो सेड्युलको छायांकन सुरु भएको निर्माता प्रज्ज्वल शमशेर जवराले जानकारी दिए । फिल्मको पहिलो सेड्युल एक हप्ताको राखिएको छ ।
 
नृत्यको कथामा आधारित भएर निर्माण हुने फिल्मको निर्देशनको जिम्मेवारी रेनशा वान्तवा राईले सम्हालेकी छन् । उनले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को निर्देशन गरेकी थिइन् । निर्माता राणाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन थालेको बताए । उनका अनुसार, दशैंमा केही दिन फिल्मको काम रोकिने र त्यसपछि पुनः दोस्रो सेड्युलको छायांकन सुरु हुनेछ ।
 
प्रज्ज्वलले भने, ‘हामीले एक-एक हप्ताको सेड्युल राखेर छायांकन सुरु गरेका हौं । कास्ट एन्ड क्रियू सबैको कोरोना बीमा गरेका छौं । छायांकन स्थलमा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्री राखेका छौं । सेटमा कलाकारसहित २५ जनाभन्दा बढी उपस्थिति रहने छैन । कलाकार र प्राविधिकलाई एकै ठाउँमा राखेका छौं र बाहिरका व्यक्तिसँग भेट्न दिने छैनौं ।’
 
कोरोनाका कारण सरकारले गएको सात महिनादेखि फिल्म निर्माण र प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कयौं फिल्मको छायांकन सुरु हुन सकेको छैन । निर्माता राणा भने चलचित्र विकास बोर्डबाट अनुमति लिएर फिल्मको छायांकन सुरु गरेको बताउँछन् । जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन अनुमति दिएको उनले बताए ।
 
आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुने ‘आई एम ट्वान्टी वान’ को छायाँकारमा सुशन प्रजापति छन् । फिल्ममा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी रहनेछ भने रोहित शाक्यले गीतमा संगीत भरेका छन् । विगत एक वर्षदेखि धिरज र जसिताले फिल्मका लागि नृत्यको तालिम लिएका थिए । पहिलो पटक एकसाथ काम गर्न लागेका उनीहरुलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।
Most Visited News (monthly)