
बलिउड अभिनेता अजय देवगन अभिनीत सुपरहिट फिल्म ‘तन्हाजी : द अनसंग वारियर’ को सफलतापछि निर्देशक ओम राउतले गएको महिना नयाँ फिल्म ‘आदिपुरुष’ घोषणा गरेका थिए । फिल्ममा पहिलो पटक साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेता सैफ अली खानले स्क्रिन साझेदारी गर्दैछन् । फिल्ममा प्रभास भगवान राम र सैफ भिलेन लंकेशको भूमिकामा देखिने छन् ।
कोरोना भाइरसपछि निर्माण हुने ‘आदिपुरुष’ भारतको सबैभन्दा ठूलो फिल्म हुने बताइएको छ । पिंकविलासँग कुराकानी गर्दै ओम राउतले भनेका छन्, ‘मैले यो फिल्मका लागि अतितमा रिसर्च गरेको छु । एक लेखकको रुपमा मैले यो पूरै प्रोजेक्टको प्लान गरेको छु । यो स्क्रिप्ट मेरो दिमागमा थियो र यसलाई मैले ‘आदिपुरुष’ नाम दिएँ । मैले एक वर्ष अगाडि एक ड्राफ्ट लेखेको थिएँ ।’
कोरोनाका कारण ठूलो लगानीमा फिल्म बनाउन निर्माताहरु तयार नभएको अवस्थामा निर्देशक ओम राउत र निर्माता भूषण कुमार भने ‘आदिपुरुष’ मा ठूलो लगानी गर्दैछन् । फिल्ममा भिएफएक्सको यस्तो प्रविधि प्रयोग गरिँदैछ, जुन यसअघि भारतीय फिल्ममा प्रयोग भएको थिएन । यो फिल्मको निर्माण लागत ३ सय ५० करोडदेखि ४ सय करोडको बीचमा हुने बताइएको छ ।

