.jpg)
कोभिड १९ को संक्रमण रोकथामका लागि विगत सात महिनादेखि बन्द रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आउँदा समेत फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकार फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आलटाल गरिरहेको छ । निर्माताहरु भने सरकारले छायांकन अनुमति दिने आशमा फिल्म घोषणा गरिरहेका छन् ।
सरकारले छायांकन अनुमति दिएपछि निर्देशक किशोर चौधरीले पनि फिल्म ‘संस्कार’ निर्माण गर्ने भएका छन् । वुधवार फिल्ममा समावेश ‘चितवनको एयरपोर्ट’ बोलको गीत रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर भरेका छन् । उनीहरुले दोस्रो पटक एकसाथ फिल्मको गीत गाएका हुन् ।
यसअघि यी दुईले फिल्म ‘रातो टीका निधारमा’ को ‘मेरो माया के हो’ बोलेको गीत गाएका थिए । ‘चितवनको एयरपोर्ट’ गीतको शब्द तथा संगीत राम्रो रहेको र दर्शकलाई मनपर्ने निशान र अस्मिताको विश्वास छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिने निर्देशक चौधरीले बताए । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ ।
दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट निर्माता कुँवरकै हो । तिहारपछि सुटिङ सुरु हुने फिल्ममा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश रहने निर्माता दिनेशले जानकारी दिए । फिल्मको सह निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र विरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको टुंगो लागेको छैन ।

