(1).jpg)
नेपाली फिल्म क्षेत्रमा सफलता खोज्ने कलाकारहरुको संख्या ठूलो छ । लामो समय संघर्ष गर्दा पनि सफलताबाट विमुख हुँदा कति निराश भएका छन् भने कतिलाई पहिलो फिल्मले नै रातारात स्टार बनाएको छ । फिल्मले व्यावसायिक सफलता प्राप्त नगरेसम्म कलाकारको करिअरले गति लिन सक्दैनन् । एकाध कलाकार मात्र फिल्म असफल भए पनि अभिनयको दमले चलेका छन् ।
सुरविना कार्की फिल्ममा सफलता खोज्नेहरुको भीडमा उभिएकी अभिनेत्री हुन् । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले सुरुवाती दिनमा बोल्ड फोटोसुट र फिल्ममा हट दृश्य दिएर चर्चा कमाइन् । अहिले पनि उनको हट तस्विरहरुले बेला बखतमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम तात्ने गरेका छन् । तर, फिल्मका कारण उनको चर्चा हुन छाडेको धेरै भइसकेको छ ।
नेपाली फिल्ममा वर्षौं संघर्षका बावजूद पनि सफलता नमिलेपछि केही वर्षदेखि बलिउड प्रवेशका लागि मुम्बईमा संघर्ष गरिरहेकी उनी पछिल्लो पटक ‘के माया लाग्छ र ?’ बोलको गीतको म्यूजिक भिडियोमा देखिएकी थिइन् । यो गीतमा उनको अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । गीतलाई दर्शकहरुले अत्याधिक रुचाउँदा सुरविनालाई चिन्नेको संख्यामा पनि वृद्धि भएको छ ।
‘नाइके, सुश्री, लुकामारी’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइसकेकी उनी अहिले सफलताको ग्यारेन्टी गर्ने फिल्मको खोजीमा छिन् । राम्रो स्क्रिप्ट र आफूलाई सुहाउँदो भूमिकाबाट अफर नआएका कारण फिल्म नगरेको बताउने सुरविना अब हतारमा फिल्म गर्ने पक्षमा छैनन् । बुधवार आफ्नो जन्मदिन मनाउँदै गरेकी उनलाई चाँडै फिल्ममा सफलता मिलोस्, शुभकामना ।

