Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/13
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो ।
 
पर्दामा एक्सन अवतारमा अत्याधिक रुचाइएकी रेखाको अहिले स्टारडम कमजोर भएको टिप्पणी हुने गरेको छ । केही वर्षयता उनको नामले फिल्म चल्न छाडेका छन् ।  रेखा अभिनीत पछिल्ला रिलिज फिल्म ‘पलाँस, डायरी, जाउँ हिँड पोखरा, तथास्तु, रुद्रप्रिया, मालिका’ ले घरेलु बक्सअफिसमा असफलता बेहोर्नुले उनको स्टारडम कमजोर भएको कतिपयको आँकलन छ ।
 
 
कोरोना महामारीपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा रहेकी उनले लकडाउनको समयमा आफ्नो शरीरलाई ‘जिरो फिगर’ बनाएकी छन् । फिल्म ‘हिम्मतवाली’ देखि उनले आफ्नो शरीरलाई मेन्टेन नगरेको टिप्पणी हुँदै आएको थियो । लकडाउनमा उनले २० केजी तौल घटाएर आफ्नो शरीरलाई पुरानै अवस्थामा ढालेकी छन् ।  उनी अझै तौल घटाउन जिमखाना धाइरहेकी छन् ।
 
लकडाउनमा फिल्म निर्माणको काम रोकिँदा शारीरिक अभ्यास गर्न पर्याप्त समय मिलेको उनी बताउँछिन् । सोमवार ‘मुन्द्रेको कमेडी क्लब’ मा अतिथीको रुपमा पुगेकी अभिनेत्री थापाले आफ्नो लागि शारीरिक अभ्यास फिल्म छायांकनभन्दा महत्त्वपूर्ण रहेको बताएकी छन् । केही वर्ष अगाडिसम्म आफूलाई शरीरभन्दा काम, उद्देश्य र सपना ठूलो लाग्ने गरेको उनी स्मरण गर्छिन् ।
 
रेखाले भनेकी छन्, ‘मैले जिन्दगीको एउटा पाटो विर्सिएको रहेछु । मलाई सधैं काम, उद्देश्य र सपना ठूलो लाग्थ्यो । तर, त्यसमा मैले आफूले आफूलाई विर्सिएको रहेछु । जुन शरीरभित्र मेरो यति राम्रो आत्मा बस्छ, मैले शरीरलाई अपहेलना गरेको रहेछु । अब म मेरो शरीरलाई माया गर्छु, जहाँ मेरो सुन्दर आत्मा बस्छ । मैले शारीरिक अभ्यासलाई निरन्तरता दिनुका कारण यही नै हो ।’
 
उनले तौल घटाउनुको कारण निर्माणको तयारीमा रहेको फिल्मको कथाको माग रहेको पनि बताएकी छन् । सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा उनले अभिनेता सौगात मल्लसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । पछिल्ला फिल्ममा आफूलाई एक्सन अवतारमा प्रस्तुत गर्दै आएकी उनी यो फिल्ममा पनि एक्सन भूमिकामा देखिँदैछिन् । यसका लागि रेखा थापाले फाइट ट्रेनिङ लिइरहेकी छन् । 
Most Visited News (monthly)