म्यूजिक भिडियोको दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाएका मोडलहरुको फिल्मप्रति आकर्षण बढिरहेको अवस्थामा म्यूजिक भिडियोबाट फिल्म निर्देशनमा फड्को मार्नेको संख्यामा पनि वृद्धि भइरहेको छ । भुषण दाहाल, स्वर्गीय आलोक नेम्वाङ, निकेश खड्का, सुव्रत आचार्यलगायतले म्यूजिक भिडियोमा आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेपछि फिल्म निर्देशन गरेका थिए ।

अब विधान कार्कीले पनि फिल्म निर्देशन गर्ने भएका छन् । उनी अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक हुन् । लकडाउनपछि मात्र एक दर्जन बढी भिडियोको निर्देशन गरेका उनी आउँदो वर्षको बैशाखमा फिल्म निर्माण गर्ने तयारीमा छन् । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । सामाजिक विषयवस्तुमा बन्ने फिल्मका लागि कलाकार छनौट भने भएका छैनन् ।
विधानका अनुसार, फिल्मले बाबु र छोराको भावनात्मक सम्बन्धको कथा भन्नेछ । फिल्मको स्क्रिप्ट लक भइसकेको उनले बताए । म्यूजिक भिडियोबाट दर्शकको आफूप्रति अपेक्षा बढेका कारण फिल्मलाई पनि उत्कृष्ट बनाउन मेहनत गर्ने उनी बताउँछन् । दश वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा आबद्ध भएका कारण त्यो अनुभवलाई समेटेर फिल्म निर्देशन गर्न लागेको उनको भनाई छ ।
अमेरिकाको नेप्सिने कम्पनीका नेपाल प्रमुख समेत रहेका विधान कार्कीले १ करोड १५ लाखमा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स खरिद गरेका थिए । तर, फिल्म प्रदर्शन भए लगत्तै संसार कोरोनाको महामारीले थलियो । जसका कारण यो फिल्म विदेशमा प्रदर्शन हुन सकेन । अब विदेशमा फिल्म प्रदर्शन हुने सम्भावना न्यून रहेको विधान बताउँछन् ।

त्यसो भए १ करोड १५ लाख बालुवामा पानी खन्याए झैँ भएको हो ? फिल्मीखबरको प्रश्नमा उनले भने- ‘कोरोनाले फिल्ममा गरेको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । तर, कुनै भवितव्य आयो भने केही रकम फिर्ता गर्ने सर्तमा सिताराम कट्टेलजीसँग सम्झौता भएको थियो । पैसा फिर्ता गर्न उहाँ सकारात्मक हुनुहुन्छ । अब कति पैसा फिर्ता आउँछ त्यो चाहिँ थाहा छैन ।’

