
कोरोनाका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको सात महिनाभन्दा बढी भइसकेको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकार तत्काल फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध खोल्ने पक्षमा छैन । फिल्मकर्मीले भने आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न अनुमति दिनुपर्ने माग गरिरहेका छन् । तर, यस विषयमा सरकार मौन छ ।
निषेधाज्ञा आंशिक खुलाएर विभिन्न क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिएपछि फिल्म निर्माण पनि खुल्ला हुने आशमा निर्माता तथा निर्देशकहरुले नयाँ फिल्मको घोषणा गरिरहेका छन् । सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिए लगत्तै दर्जनौं फिल्म छायांकनमा निस्कनका लागि तयार छन् । कति भने कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म पर्खिने सोचमा छन् ।
‘संरक्षण’ फेम्ड निर्देशक पुर्णेन्द्रु झा कोरोना संक्रमण सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् । पछिल्लो पटक ‘चौका दाउ’ निर्देशन गरेका उनी कोरोना महामारीपछि ‘संक्रमण’ नाममा फिल्म बनाउँदैछन् । योसँगै उनको पाइपलाइनमा अरु चार फिल्म छन्, ‘सनाखत, भर्गो, फूलमाया र अफेयर’ । ‘संक्रमण’ प्रदर्शनपछि उनले क्रमशः यी चार फिल्मको निर्माण गर्नेछन् ।
उनले भने- ‘पाँच फिल्ममध्ये ‘संक्रमण’ को स्क्रिप्ट लक भइसकेको छ । अरु फिल्मको स्क्रिप्टमा काम हुँदैछ । ‘संक्रमण’ को टाइटल मैले ‘संरक्षण’ भन्दा अगाडि नै सोचेर राखेको थिएँ । अहिले फिल्मको कथावस्तु र टाइटल समय सान्दर्भिक भयो । कोरोनाको पृष्ठभूमिमा फिल्म बन्नेछ ।’ उनले आफ्नै प्रोडक्सन हाउस पुर्णेन्द्रु झा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण गर्न लागेका हुन् ।
फिल्मका लागि कलाकार छनौट नभएको निर्देशक झाले बताए । उनका अनुसार, फिल्ममा नयाँ र पुराना दुवै पुस्ताका कलाकारको समिश्रण रहनेछ । फिल्म ‘संरक्षण’ मा पुर्णेन्द्रु झाको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । ‘चौका दाउ’ बाट भने उनले आफ्नो साख जोगाउन सकेनन् । ‘संक्रमण’ ले समीक्षात्मक र व्यवसायिक दुवै सफलता प्राप्त गर्नेमा उनी विश्वस्त छन् ।

