Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘जिन्दाबाद’ गर्दैछन् निश्चल ?

फिल्मीखबर, काठमाण्डौ, 2020/10/08
नेपाली फिल्मका ‘ट्रेण्ड सेटर’ निर्देशक मानिन्छन्, निश्चल बस्नेत । नेपाली फिल्म परम्परागत कथ्यशैलीमा रुमलिरहँदा उनले ‘लुट’ जस्तो फरक धारको फिल्म बनाएका थिए । यो फिल्मपछि नै हो नेपाली फिल्ममा कथा भन्ने शैलीमा परिवर्तन आएको । र, ‘लुट’ ले निश्चललाई एउटा विश्वासिलो ब्रान्डको रुपमा स्थापित गर्‍यो । उनले अहिलेसम्म पनि यही फिल्मको ब्याज खाइरहेका छन् । 
 
‘लुट’ पछि निश्चलले ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरे । यसबाट पनि उनले दर्शक तथा समीक्षकको एक हदसम्म स्याबासी पाए । तर, ‘लुट २’ ले उनको निर्देशकिय क्षमतामाथि नै प्रश्न उठायो । ‘लुट’ को नाम बेचेर पैसा कमाउन उनले फिल्म बनाएको आरोप खेप्नु पर्‍यो । उनी आफैं पनि ‘लुट २’ मा धेरै गल्ती भएको स्वीकार गर्छन् र आलोचनालाई सकारात्मक रुपमा लिएका छन् ।
 
 
‘लुट २’ पछि आफ्नो घैंटोमा घाम लागेको बताउने निश्चल यो फिल्मपछि अभिनयमा सक्रिय छन् । ‘प्रसाद, घामड शेरे’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा अवाज समेत भरेका छन् । अब भने उनी फिल्म निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । उनले निर्देशन गर्ने नयाँ फिल्मको स्क्रिप्ट ‘फिरफिरे’ फेम्ड लेखक बुद्धि सागरले तयार पारिसकेका छन् ।
 
गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्मको नाम ‘जिन्दाबाद’ राखिएको छ । निश्चलले यो नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेको बुझिएको छ । लभस्टोरी-कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा ‘लुट’ कै कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतको अभिनय रहने जानकारी प्राप्त छ । अभिनेत्रीमा भने निश्चलकी श्रीमती स्वस्तिमा खड्काको नाम चर्चामा छ । 
 
कोरोना महामारी सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निश्चल छन् । उनको होम प्रोडक्सन कम्पनी ब्ल्याक हर्स पिक्चरको ब्यानरमा फिल्म निर्माण हुनेछ । स्क्रिप्ट ‘लक’ गरेर अहिले उनी कलाकार छनौटमा लागेको स्रोतले जानकारी दिएको छ । लामो समयपछि एक्सन कटमा फर्किन लागेका निश्चल बस्नेतबाट दर्शकहरुले फरक धारको फिल्मको अपेक्षा गरेका छन् ।
Most Visited News (monthly)