Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरु भयो ‘आश्रम’ को छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2020/10/07
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले सात महिनादेखि फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा फिल्म निर्माणदेखि प्रदर्शनसम्म प्रभावित भएको छ भने दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने प्राविधिकलाई हातमुख जोर्नै समस्या भएको छ । यो विषम परिस्थितिमा पनि सरकारबाट उपेक्षामा परेको फिल्म क्षेत्र कहिलेबाट सञ्चालनमा आउँछ, कुनै टुंगो छैन ।
 
सरकारले भीडभाड हुने अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिएर फिल्म क्षेत्रप्रति गम्भीर नभएको भन्दै फिल्मकर्मीहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । निर्देशिका बनाएर फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न दिनुपर्ने उनीहरुको माग छ । सरकार पनि दशैंअघि सिनेमा हल खोल्न र फिल्म निर्माणको अनुमति दिने तयारीमा जुटेको छ । यसले फिल्मकर्मीमा खुसीको सञ्चार पैदा भएको छ ।
 
 
ठूला ब्यानरका फिल्म सरकारको अनुमति कुरेर बसे पनि साना बजेटका फिल्मको स्वास्थ्य सुरक्षा अपनाएर धमाधम छायांकन भइरहेको छ । मंगलवारबाट निर्माता मनोज राजभण्डारीले पनि फिल्म ‘आश्रम’ को छायांकन सुरु गरेका छन् । सानो बजेटमा बन्न लागेको फिल्मको इनडोर र आउटडोर दुवै छायांकन बालाजुमा रहेको एनएफडिसीमा गरिने निर्माता राजभण्डारीले बताए । 
 
‘फिल्मको इनडोर र आउटडोरको छायांकन एनफडिसीको स्टूडियोभित्रै हुनेछ । फिल्मको टिम पनि ठूलो छैन । सामाजिक दूरीसँगै स्वास्थ्य सुरक्षा अपनाएर फिल्मको छायांकन सुरु गरेका हौं,’ उनले भने- ‘कोरोनाका कारण फिल्म क्षेत्रको अवस्था नाजुक छ । अब फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्छ भन्नका लागि पनि विशेष सावधानी अपनाएर फिल्मको छायांकन सुरु गरेका हौं ।’
 
मेरोन राजभण्डारी (महिला निर्देशक) को निर्देशन रहेको फिल्मको कथा तथा पटकथा सृष्टि पोखरेलको हो । फिल्मलाई दिपेन बस्न्यातले खिचिरहेका छन् । ‘आश्रम’ मा एलमिता केसी, नविस कठायत, किमत गौतम, अनुष्का तिमल्सिना, कौशल दाहाल, पल्पसा श्रेष्ठ, बाल कलाकार श्रीयन राजभण्डारी, श्रद्धा महर्जन, टिसा राजभण्डारी, सिवानी खड्कालगायतको अभिनय रहनेछ ।
 
फिल्मले बाल आश्रममा बस्ने बालबालिकाको अवस्था र उनीहरुको मनोविज्ञानलाई देखाउने निर्माता मनोज राजभण्डारीले बताए । उनका अनुसार, फिल्ममा वृद्ध आश्रमको कथा पनि जोडिनेछ । उनी स्थिति सामान्य भएर हलमा दर्शकको उपस्थिति बाक्लिन थालेपछि फिल्मलाई प्रदर्शन गर्ने योजनामा छन् । उनले यसअघि अभिनेता सौगात मल्ललाई लिएर फिल्म ‘मन्त्र’ बनाएका थिए ।
Most Visited News (monthly)