
अभिनेता पल शाहले म्यूजिक भिडियो र फिल्ममा जति पनि कलाकारसँग काम गरेका छन्, उनीहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । कुनै कलाकारसँग उनको पानी बाराबारको सम्बन्ध रहेको सुनिएको छैन । पुष्प खड्का, नाजिर हुसेन, प्रदीप खड्का, पूजा शर्मा, आकाश श्रेष्ठलगायतसँग उनको सुमधुर सम्बन्ध छ । यसैले उनलाई मित्रता निभाउन सक्ने अभिनेता पनि भन्ने गरिन्छ ।
पल शाह अहिले गायक तथा मोडल दुर्गेश थापासँग निकै नजिक छन् । चर्चा र विवादमा छाइरहने दुर्गेशको ‘आलु जस्तो गायक’ बोलको गीतमा अभिनय गरेपछि उनीहरुबीच घनिष्ट मित्रता कायम भएको हो । गएको महिना बागलुङका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण गर्न पनि उनीहरु एकसाथ पुगेका थिए । त्यसबेला दुर्गेशले पललाई आफ्नो जन्मथलो समेत घुमाएका थिए ।
‘आलु जस्तो गायक’ गीतपछि पल र दुर्गेश फेरि एकपटक म्यूजिक भिडियोमा देखिँदैछन् । यही असोज २३ गते यूट्युबमा सार्वजनिक हुने ‘किन यस्तो भो’ गीतमा उनीहरुले सँगै काम गरेका छन् । यसमा एलिजा गौतम, ऋषि धमला, हरी खड्का लगायतको पनि अभिनय छ । पल र दुर्गेशले दोस्रो पटक सहकार्य गरेका कारण दर्शकहरु यो गीतको प्रतिक्षामा बसेका छन् ।
उनीहरुको मित्रताले यतिबेला व्यवसायिक पाटोमा पनि सघाउ पुर्याउँदै गएको छ । अहिले यी दुईलाई लिएर म्यूजिक भिडियो बनाउन चाहनेको संख्या ठूलो छ । यसले उनीहरुलाई ‘दुवै हातमा लड्डू’ झैँ भएको छ । तर, रंगीन दुनियाँमा लामो समय मित्रता टिकेका थोरै उदाहरण छन् । पल र दुर्गेशको मित्रता घाम-पानी झैँ क्षणभरका लागि त हुने होइन ? यो भने समयले देखाउनेछ ।

