अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले दोस्रो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ए मेरो हजुर ४’ को कोरोनाका कारण छायांकन पूरा हुन सकेको छैन । लकडाउन हुनुभन्दा दुई हप्ता अगाडि सुरु भएको फिल्मको छायांकन लकडाउनपछि स्थगित भएको थियो । निर्माण टिम यही शुक्रवारबाट फिल्मको बाँकी छायांकन थाल्ने तयारीमा थियो । तर, यो सम्भव हुन सकेन ।
निर्माता सुनिल कुमार थापा सरकारले छायांकन अनुमति नदिँदा शुक्रवारबाट फिल्मको छायांकन सुरु हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्र विकास बोर्डबाट केही दिनमा छायांकन अनुमति पाउने जानकारी पाएपछि हामीले शुक्रवारबाट छायांकन थाल्ने तयारी गरेका थियौं । तर, सरकारले छायांकन अनुमति दिएको छैन । अहिले हामी सरकारको निर्माणको प्रतिक्षामा छौं ।’
(1)(2).jpg)
सरकारले छायांकन अनुमति दिएको भोलीपल्टै फिल्मको छायांकन थाल्ने उनी बताउँछन् । उनले कलाकारदेखि प्राविधिकसम्म छायांकनमा निस्कन तयारी अवस्थामा रहेको बताए । ‘अब फिल्म क्षेत्रलाई चलायमान बनाउन आवश्यक छ । स्वास्थ्य सुरक्षा अपनाएर सावधानीपूर्वक फिल्म छायांकन गर्नुपर्छ,’ उनले भने । उनी आउँदो बैशाखभित्र फिल्म प्रदर्शन गर्ने योजनामा पनि छन् ।
निर्माता थापाले अगाडि भने- ‘यही दशैंमा फिल्म प्रदर्शन गर्न सकिन्छ भन्ने लागेको थियो । तर, कोरोनाका कारण सम्भव भएन । सरकारले सिनेमा हल खोल्न अनुमति दिएको अवस्थामा बैशाखभित्र फिल्म प्रदर्शन गर्ने योजना छ । चलचित्र विकास बोर्डले प्रचारमा सहयोग गर्छ भनेर फिल्म प्रदर्शन गर्ने सोच बनाएको चाहिँ होइन । निर्माण भएको फिल्म धेरै समय राख्नु राम्रो हुँदैन ।’
झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेको ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानासँगै सलोन बस्नेतको मुख्य भूमिका छ । फिल्ममा अनमोलले पालेको कुकुर ‘कोको’ को पनि अभिनय हेर्न पाइनेछ । केही दिन अगाडि अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापाको फिल्ममा प्रवेश भएको थियो । फिल्ममा उनको विशेष भूमिका रहने र एक गीतमा आवाज रहने बताइएको छ ।

