Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको निर्माता लोभ्याउने ‘स्किम’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/02
कोरोना भाइरसका कारण सात महिनादेखि फिल्म क्षेत्रमा कुनै गतिविधि भएका छैनन् । निषेधाज्ञापछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध कायमै छ । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं श्रमजीवि फिल्मकर्मी समस्या परेका छन् । अब भने सरकार कोरोनाका कारण बन्द रहेका क्षेत्र दशैंअघि खोल्ने तयारीमा जुटेको छ । 
 
सात महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र खोल्न सरकारले तयारी थालेपछि फिल्मकर्मीमा खुसीयाली छाएको छ । सरकारबाट अनुमति पाएपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन थुप्रै निर्माता/निर्देशकहरु नयाँ फिल्मको छायांकन थाल्ने तयारीमा छन् । तर, निर्माण सम्पन्न भइसकेका फिल्मका निर्माताहरु भने सिनेमा हल खुले पनि यो अवस्थामा फिल्म रिलिज नगर्ने अडानमा छन् । 
 
 
आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, चपली हाइट ३, हिजो आजका कुरा, लक्का जवान’ लगायतका निर्माताले वितरक र हल सञ्चालकबाट लगानी सुरक्षित हुने गरी एमजी पाए मात्र फिल्म रिलिज गर्ने बताएका छन् । तर, उनीहरुको मागमा वितरक र हल सञ्चालक सहमत छैनन् । यो अवस्थामा चलचित्र विकास बोर्डले निर्माता लोभ्याउन एउटा ‘स्किम’ फ्याकेको छ ।
 
सरकारले सिनेमा हल खोल्न अनुमति दिएको ६ महिनाभित्र प्रदर्शन हुने फिल्मको सर्भर इनकोडिङ चार्ज, हलमा फिल्म रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज र पोष्टर छपाईको सम्पूर्ण खर्च बोर्डले बेहोर्ने भएको छ । त्यस्तै, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा फिल्मको सहुलियत विज्ञापनको लागि पनि कुराकानी भइसकेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।
 
फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि बोर्डले रिलिज हुने फिल्मलाई सहयोग गर्ने निर्णय गरेको अध्यक्ष दाहालले बताए । उनका अनुसार, उपत्यकाका महानगर र नगरसँग सहकार्य गरेर ६ महिनासम्म नेपाली फिल्मको ब्यानर सबै आकाशे पुलमा राख्न पनि पहल गरिएको छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन सबैको साथ र सहयोगको अवश्यकता रहेको उनको भनाई छ । 
Most Visited News (monthly)