नेपालीभाषी बाहुल्य रहेको भारतीय राज्य दार्जिलिङ, सिलुगढी, सिक्किम, कालिङपोङलगायतका क्षेत्रले तुलसी घिमिरे, निरुता सिंह, उत्तम प्रधान, शान्ति ठटाल (नेपाली फिल्मकी पहिलो महिला संगीतकार) जस्ता धेरै सिर्जनाका खानी नेपाली फिल्म क्षेत्रलाई सुम्पिएको छ । कालिङपोङमा जन्मे-हुर्केका अनमोल गुरुङ पनि सम्भावना बोकेका निर्देशक, गायक र संगीतकारमा पर्छन् ।
.jpg)
उनले निर्देशन गरेको पहिलो फिल्म ‘आप्पा’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो फिल्म घरेलू बक्सअफिसमा सफल नभए पनि उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । समीक्षकहरुले उनीबाट भोलीका दिनमा राम्रो फिल्मको अपेक्षा गर्न सकिने बताएका छन् । अभिनेता दयाहाङ राई अभिनीत फिल्मले बुबा र छोराको भावनात्मक सम्बन्धको कथा पेश गरेको थियो ।
फिल्ममा समावेश ‘साँझ परेपछि’ बोलको गीत अहिले पनि दर्शकको मुखमा झुण्डिएको छ । यो गीत अनमोल आफैंले गाएका हुन् भने शब्द तथा संगीत पनि उनकै हो । गीतमा उनको स्वर, शब्द र संगीतको सांगीतिक क्षेत्रका व्यक्तिहरुले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । फिल्म प्रदर्शन भएपछि जन्मथलो कालिङपोङ फर्किएका उनले फेरि अर्को गीत सार्वजनिक गरेका छन् ।
‘हजारौं रहर’ बोलको प्रेमिल गीतमा अनमोलकै स्वर, शब्द तथा संगीत छ । कालिङपोङ क्षेत्रमा खिचिएको भिडियोमा उनी आफैं फिचर छन् । मोडल रीया भुजेल उनको पूर्व प्रेमिकाको रुपमा प्रस्तुत छिन् । भिडियोमा कैद कालिङपोङको सुन्दरताले आँखालाई आनन्द दिन्छ भने जोनह गुरुङको छायांकन पक्ष प्रशंसनीय छ । अनमोलको स्वरसँँगै शब्द तथा संगीतले मन्त्रमुग्ध बनाउँछ ।
यो गीतबाट उनले पुनः एकपटक संगीत सिर्जनामा आफूलाई प्रमाणित गरेका छन् । आफ्नो पृथक स्वरले दर्शकलाई प्रभावित गरेका अनमोललाई मेकिङ पक्षको पनि राम्रो ज्ञान रहेको भिडियो हेर्दा महशुस हुन्छ । यसको निर्देशन उनी आफैंले गरेका हुन् । ‘आप्पा’ मा आफूलाई दृश्य भाषामार्फत् भन्न मन लागेको कुरा इमान्दारपूर्वक देखाएका उनको गायनमा राम्रो भविष्य देखिन्छ ।
गीत हेर्नुहोस् :-

