गत वर्षको मंसिरमा निधन भएका कलाकार तथा निर्माता केशव भट्टराईले तीन दशक नेपाली फिल्म क्षेत्रमा विताए । तुलसी घिमिरे निर्देशित फिल्म ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।
केही सफल फिल्मको निर्माण समेत गरेका भट्टराईले सुपरहिट फिल्म ‘आफ्नो मान्छे’ को कमाईबाट काठमाडौंको अनामनगरमा घर किनेका थिए । तर, ‘सो सिम्पल’ फिल्म असफल भएपछि उनी ऋणमा डुबे । जसका कारण उनले घर नै बेच्नुपर्यो । यसपछि उनी अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए । अहिले उनका श्रीमती र छोरा भाडाको कोठामा बस्दै आएका छन् ।
उनले परिवारका लागि भनेर सिनामंगलमा बैंकसँग लोन लिएर एउटा अपार्टमेन्ट किनेका थिए । तर, त्यहाँ सर्न नपाउँदै उनी अस्ताए । उक्त अपार्टमेन्टको लोन तिर्ने उद्देश्यले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा गठन भएको ‘केशव भट्टराई परिवार सहयोग समिति’ ले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई संकलित रकम हस्तान्तरण गरेको छ ।
बुधवार चलचित्र विकास बोर्डको सभा हलमा अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायतका देशहरुमा बस्ने नेपाली फिल्मकर्मीले समितिलाई पठाएको कूल ३३ लाख ३७ हजार स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा राजकुमार राई, दयाराम दाहाल र नीर शाहले केशव भट्टराईलाई सम्झिँदा स्वर्गीय भट्टराईकी श्रीमती नीता भावविह्वल भएकी थिइन् ।

