(1)(1)(1).jpg)
निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । एउटा फिल्म निर्माण नहुँदै उनले नयाँ फिल्मको घोषणा गरिसकेका हुन्छन् । अहिले उनको पाइपलाइनमा ‘गोर्खा वारियर, बोबी २’ लगायत केही फिल्म छन् । ‘हँसिया’ बाट निर्देशकिय यात्रा आरम्भ गरेका उनले त्यसयता ‘वीर विक्रम, ब्लाइन्ड रक्स, लिलिबिली, बोबी, ह्याप्पी डेज, वीर विक्रम २’ को निर्देशन गरिसकेका छन् ।
कोरोना महामारीभन्दा अगाडि उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को तयारीमा थिए । तर, कोरोनाका कारण यो फिल्मको निर्माण पछाडि धकलिएको छ । यसबीच, उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग एक नयाँ फिल्मका लागि सम्झौता गरेका छन् । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको अर्को वर्षको बैशाखबाट यूरोपमा छायांकन सुरु गर्ने तयारीमा निर्देशक चाम्स छन् ।
मिलन चाम्सले पछिल्ला फिल्ममा स्टार कलाकारसँग काम गर्दै आएका छन् । प्रदीप खड्का, दयाहाङ राई, प्रियंका कार्की, पल शाहलाई निर्देशन गरिसकेका उनले अब साम्राज्ञीलाई रोजेका छन् । प्रायः निर्माता/निर्देशकलाई स्टार कलाकार लिएपछि फिल्म सफल हुन्छ भन्ने विश्वास छ । यही कारण निर्देशक चाम्सले पनि फिल्ममा स्टार कलाकार छान्ने गरेका हुन् ? धेरैको जिज्ञासा छ ।
तर, उनी स्टार कलाकार लिँदैमा फिल्म सफल हुने कुरामा रत्ति विश्वास गर्दैनन् । ‘स्टार कलाकार भएपछि फिल्मलाई ब्रान्डिङ गर्न केही हदसम्म सजिलो चाहिँ हुनसक्छ । तर, फिल्म कन्टेन्टले चल्छ, स्टारले होइन । म स्टार कलाकारका कारण फिल्म सफल हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ,’ उनले भने । उनी आफू कथाको माग अनुसार फिल्ममा कलाकार छनोट गर्ने गरेको बताउँछन् ।
आफूले कहिल्यै स्टार कलाकार भएपछि फिल्म चल्छ भन्ने सोचाइबाट निर्देशित भएर कलाकार नलिएको उनको दाबी छ । मिलन चाम्स भन्छन्, ‘फिल्म स्टारले होइन कन्टेन्टले चल्छ भन्ने प्रमाणित ‘बोबी’ ले गरिसकेको छ । यो फिल्ममा कोही स्टार कलाकार थिएनन् । तर, कन्टेन्ट बलियो भएका कारण फिल्म सफल भयो ।’ आफूले पात्र सुहाउँदो कलाकार छान्ने गरेको उनको भनाई छ ।

