
तुलसी घिमिरेले निर्देशन गरेका अब्बल फिल्ममध्ये एक हो, ‘दर्पण छायाँ’ । २००१ मा निर्माण भएको फिल्ममा निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको प्रमुख भूमिका थियो । मित्रता, प्रेम र बलिदानको कथामा बनेको यो फिल्म आजका दिनमा पनि दर्शकको मनमा बसेको छ । निरुता, दीलिप र उत्तमसँगै नेपाली फिल्म क्षेत्रका लागि यो फिल्म कोशेढुंगा सावित भएको थियो ।
नाम नै ब्रान्ड बनेको ‘दर्पण छायाँ’ को नेम सिक्वेल समेत निर्माण भइसकेको छ । तुलसी घिमिरेले नै निर्देशन गरेको फिल्ममा पुष्प खड्का र सहारा कार्कीको मुख्य भूमिका थियो । तर, फिल्मले ‘दर्पण छायाँ’ को साख जोगाउन सकेन । कमजोर कथावस्तु र प्रस्तुतिका कारण दर्शकले फिल्म रुचाएनन् । कतिपयले फिल्म असफल हुनुलाई पुराना कलाकार नदोहोरिनुलाई मानेका छन् ।
अब निरुता, दीलिप र उत्तमले मिलेर ‘दर्पण छायाँ’ को वास्तविक सिक्वेल बनाउँदैछन् । फिल्म जहाँ अन्त्य भएको थियो त्यहीबाट कथा अगाडि बढाउने गरी उत्तम प्रधानले स्क्रिप्ट तयार पारिसकेका छन् । कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला फिल्मको छायांकन सुरु भइसकेको हुन्थ्यो । अब स्थिति सामान्य भएपछि फिल्मको निर्माण हुने निरुताले जानकारी दिएकी छन् ।
उनले फिल्मको स्क्रिप्ट तयार भइसकेको र एकदमै राम्रो रहेको बताएकी छन् । उनी भन्छिन्, ‘तुलसी सरले पनि स्क्रिप्ट पढिसक्नुभएको छ । स्क्रिप्ट एकदमै राम्रो छ । हामी फिल्म गर्न निकै उत्साहित छौं । फिल्ममा म, उत्तम र दीलिप नै हुनेछौं । उत्तमजीले कथा अनुसार फिल्मको नाम ‘दर्पण छायाँ पछि’ राख्नुभएको छ ।’ फिल्मलाई तुलसी घिमिरेले नै निर्देशन गर्नेछन् ।

