
ड्रग्स मामलामा धर्मा प्रोडक्सनका दुई व्यक्तिसँग एनसिबीले सोधपुछ गरेपछि निर्देशक तथा निर्माता करण जोहरले स्पष्टिकरण दिएका छन् । शुक्रवार उनले ट्विटरमार्फत् आफ्नो भनाई सार्वजनिक गर्दै भनेका छन्, ‘म न ड्रग्स लिन्छु न त यसलाई प्रमोट नै गर्छु । म र मेरो परिवारको बारेमा, साथीहरु र धर्मा प्रोडक्सनको बारेमा अहिले जुन कुराहरु भइरहेको छ, त्यो सबै बकवास हो ।’
नारकोटिक्स कन्ट्रोल ब्यूरोले करण जोहरको प्रोडक्सन हाउसमा आबद्ध निर्माता क्षितिज रवि प्रसादलाई २४ घण्टादेखि सोधपुछ गरिरहेको छ । शुक्रवार उनको घरमा एनसिबीले छापा पनि मारेको थियो । उनको घरमा केही ड्रग्स भेटिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । त्यस्तै, ड्रग्स मामलामा धर्मा प्रोडक्शनका अनुभव चोपडासँग पनि एनसिबीले सोधपुछ गरिरहेको छ ।
करणले क्षितिज र अनुभवको बारेमा भनेका छन्, ‘उनीहरु मेरा सहयोगी हुन्, नजिकका सहयोगी । तर, म एउटा कुरा स्पष्ट बताउन चाहन्छु कि उनीहरुलाई म व्यक्तिगत रुपमा जान्दिनँ ।’ उनले गत वर्ष जुलाईमा आफ्नो घरमा आयोजित एक पार्टीमा ड्रग्स सेवनको खबरको पनि खण्डन गरेका छन् । आफू र धर्मा प्रोडक्सनलाई बदनाम गर्ने काम भइरहेको उनको भनाई छ ।

