नेपाली फिल्म क्षेत्र सुनसान भएको ७ महिना भइसकेको छ । सम्भवतः यति लामो समय फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । २०७२ सालको भूकम्पपछि मुश्किलले तंग्रिएको फिल्म क्षेत्रलाई यतिबेला कोरोनाको महामारीले थिलथिलो बनाएको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपछि देशको अर्थतन्त्रमा महत्त्व राख्ने विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । लामो-छोटा दुरीका सवारी साधन, हवाई सेवा, होटल, रेस्टुराँलगायतका क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिएको छ । तर, हजारौं आश्रित फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । जसले गर्दा यही क्षेत्रमा निर्भर रहेका फिल्मकर्मीलाई आर्थिक संकट उत्पन्न भएको छ ।
.jpg)
भीडभाड हुने अन्य क्षेत्र खोलेर फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएको भन्दै अहिले फिल्मकर्मीहरुले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् । चलचित्र विकास बोर्डसँगै फिल्म सम्बद्ध संघ संस्थाहरुले फिल्म क्षेत्र खुलाउन पहल गरे पनि सरकार गम्भीर देखिएको छैन । यो अन्योलका बीच निर्माताहरु भने सरकारले छायांकन अनुमति दिने आशमा फिल्म घोषणा गरिरहेका छन् ।
लकडाउन भएपछि ७ महिना पूर्ण रुपमा ठप्प रहेको फिल्म क्षेत्रमा केही दिनयता चहलपहल सुरु भएको छ । गएको सोमवार एक कार्यक्रमका बीच फिल्म ‘हिँडदा हिँड्दै’ घोषणा भयो । अहिले अन्य निर्माता तथा निर्देशकहरुले पनि सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरिरहेका छन् । लकडाउनयता मात्र चलचित्र विकास बोर्डमा १८ वटा नयाँ फिल्म दर्ता भएका छन् ।
‘खलनायक २, कृष्ण लीला, आँधी तुफान २, नाईं नभन्नू ल ६, सत्यम्, हिँडदा हिँड्दै, चिसो मान्छे, रुम नम्बर १०८, झ्यानाकुटी २, आइ एम ट्वान्टिवान’ लगायतका फिल्म छायांकन अनुमति पाउन साथ फ्लोरमा निस्कनका लागि तम्तयार छन् । त्यस्तै, हेमराज विसी, आकाश अधिकारी, सविर श्रेष्ठ, दिनेश राउत, माधव वाग्ले पनि दशैंपछि फिल्मको छायांकन थाल्ने सोचमा छन् ।
स्वास्थ्य सुरक्षा अपनाएर फिल्म निर्माण गर्न निर्माता तथा निर्देशक तयार भए पनि कोरोनाको संक्रमण फैलिने डरले सरकार फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ । जसले गर्दा घोषणा भएका दर्जनौं नयाँ फिल्मको छायांकन अन्योलमा परेका छन् । यद्यपि, असोज दोस्रो हप्ताबाट सरकार फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्ने तयारीमा रहेको स्रोत बताउँछ ।

