(1).jpg)
कोरोनाको भयका कारण करीब ५ महिना देश लकडाउन हुँदा एक्सन कटमा रमाउने बानी परेका कलाकारको दैनिकी घरको चारकुनाभित्र सीमित रह्यो । पहिलो पटक यति लामो समय घरमा बस्नु पर्दा उनीहरुलाई छट्पटी भएको थियो । लकडाउन खुकुलो भएपछि भने केहीले विज्ञापन र म्यूजिक भिडियोमा काम गरे । धेरैलाई अब घरभित्रै दिनचर्या विताउनु पर्दैन भन्ने लागेको थियो ।
तर, कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि राजधानीलगायत विभिन्न स्थानमा निषेधाज्ञा लागू गरियो । यसपछि फेरी एक्सन कटबाट विश्राम लिएर करीब एक महिना घरभित्र बस्न बाध्य भएका कलाकारहरुको अब भने व्यस्तता बढ्न थालेको छ । कोही म्यूजिक भिडियोको छायांकनमा फर्किएका छन् भने कोही फिल्मको स्क्रिप्ट अध्ययन र वर्कसपमा व्यस्त हुन थालेका छन् ।
अहिलेकी व्यस्त अभिनेत्री वर्षा सिवाकोटीले पनि कोरोनाको त्रासका बीच लकडाउन र निषेधाज्ञामा केही म्यूजिक भिडियोमा काम गरिन् । तर, उनलाई फिल्मको माहोल ‘मिस’ भइरहेको छ । लकडाउनअघि उनी ‘परदेश २’ को छायांकनमा थिइन् । स्थिति सामान्य भएपछि पहिला उनले यही फिल्मको छायांकन पूरा गर्नेछिन् । यसपछि उनको पाइपलाइनमा ‘सुदूर र गोर्खा वारियर’ छ ।
.jpg)
कोरोनाका कारण ढुक्कसित काममा फर्किन नपाएकी वर्षा लकडाउन, भूकम्प र मौसम खराबीले दिकदार भएकी रहेछिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा आफ्नो एक तस्विर शेयर गर्दै लेखेकी छन्, ‘घरी लकडाउन, घरी भूकम्प, घरी मौसम खराब । दिक्क लाग्दो । कहिले नर्मल हुने होला ।’ वर्षा मात्र होइन, लामो समयदेखि हरेक नेपाली सामान्य अवस्थाको अपेक्षामा छन् ।

