२०७२ सालको भूकम्पपछि फिल्म क्षेत्रले आफ्नो गति समात्न लामो समय संघर्ष गर्नुपर्यो । केही वर्षयता सब ठिकठाक थियो । तर, चीनबाट विश्वभर भ्रमण गर्दै नेपाल भित्रिएको कोरोना भाइरसको महामारीले फेरि एकपटक फिल्म क्षेत्रलाई थला पारेको छ । विगत ६ महिनादेखि न सिनेमा हल खुलेका छन् न त फिल्म निर्माण नै भएका छन् । अझै कहिलेसम्म यो अवस्था रहन्छ, टुंगो छैन ।
कोरोनाको त्रासका कारण ६ महिनादेखि फिल्म सम्बन्धि कुनै गतिविधि नहुँदा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौंको रोजीरोटी गुमेको छ । अहिले प्राविधिकहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या छ । अन्य फिल्मकर्मीहरुलाई पनि आर्थिक संकट उत्पन्न हुन थालेको छ । तर, सरकार फिल्म क्षेत्रमा उब्जिएका समस्या समाधान गर्न गम्भीर देखिएको छैन ।
असोज पहिलो हप्ताबाट सरकारले हवाई उडान र लामो दूरीका यातायात सञ्चालनका लागि अनुमति दिएको छ । भीडभाड हुने अन्य क्षेत्र पनि सञ्चालनमा आएका छन् । तर, फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । फिल्मकर्मीहरुले सामाजिक सञ्जालबाट फिल्म सम्बन्धि गतिविधि सुचारु गर्न सरकारलाई आग्रह गरिरहेका छन् । तर, उनीहरुको आवाज बालुवाटारसम्म पुग्न सकेको छैन ।
(1).jpg)
यसबीच, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघका अध्यक्षहरुले बुधवार कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टिमसँग भेट गरेर फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गरेका छन् । यो विषयमा ‘सीसीएमसी’ सकारात्मक रहेको तर अहिले नै कुनै निर्णय नभएको निर्माता संघका अध्यक्ष आकाश अधिकारील जानकारी दिए ।
उनले भने- ‘फिल्म क्षेत्र सञ्चालन गर्न ‘सीसीएमसी’ सकारात्मक देखिएको छ । सरकारबाट अनुमति पाएपछि सिनेमा हल खोल्न, फिल्म निर्माण र प्रदर्शन गर्न हामी तयार छौं भनेर जानकारी गराएका छौं । उहाँहरुले यस विषयमा छलफल गर्छौं भनेर भन्नुभएको छ । चाँडै खुसीको खबर सुन्ने पाइनेमा आशावादी छौं । अब सावधानीपूर्वक फिल्म क्षेत्रलाई गति दिनुपर्ने समय आएको छ ।’
फिल्मकर्मीले दबाब दिन नसकेका कारण सरकार फिल्म क्षेत्र खोल्न गम्भीर नदेखिएको भन्ने टिप्पणीका बारेमा उनी भन्छन्, ‘दबाब दिएर मात्र समस्याको समाधान हुँदैन । हवाई उडानमा जस्तो फिल्म हेर्न आउनेलाई पिसिआर रिपोर्ट लिएर आउनुस् भन्न मिल्दैन । भोली कम दर्शकमा सिनेमा हल चलाउन सकिन्छ कि सकिन्न त्यो पनि हेर्नुपर्छ । तर, फिल्म क्षेत्र खोल्ने बेला भने आएको छ ।’
नेपालीहरुको महान चाड दशैं नजिकिँदै छ । नेपाली फिल्मका लागि दशैं सधैं विशेष रहने गरेको छ । लामो विदा हुने भएका कारण फिल्म प्रदर्शन गर्दा सजिलै लगानी उठ्ने विश्वास निर्माता तथा निर्देशकमा छ । तर, कोरोनाका कारण यसपालीको दशैंमा सिनेमा हल सुनसान हुने देखिएको छ । फिल्मकर्मीहरु भने दशैंसम्म सिनेमा हल खुलेर फिल्म प्रदर्शन हुनेमा आशावादी छन् ।

