कोरोनाको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि करीब ५ महिना अधिकांश कलाकारको दैनिकी घरभित्रै वित्यो । कतिलाई पुस्तक त कतिलाई फिल्म दिन काट्ने साथी बन्यो । केही अभिनेत्रीले भान्सा छिरेर विभिन्न परिवार बनाउन सिके । लकडाउन खुकुलो भएपछि भने फिल्ममा अभिनय गर्दै आएका अभिनेता तथा अभिनेत्रीहरु म्यूजिक भिडियोमा व्यस्त भए ।
तर, भयावह रुपमा फैलिएको संक्रमणका कारण राजधानीमा निषेधाज्ञा लागू भएपछि पुनः एक महिना घरभित्र सीमित भएका कलाकारहरु निषेधाज्ञा केही खुकुलो भएसँगै म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन थालेका छन् । अहिले उनीहरुलाई फिल्मबाट पनि प्रस्ताव आइरहेको छ । केहीले कोरोना महामारीपछि छायांकनमा जाने गरी फिल्म साइन समेत गरेका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीलाई लकडाउन र निषेधाज्ञामा आधा दर्जन फिल्मबाट अफर आए । तर, उनलाई कुनै फिल्मको स्क्रिप्टले मन जितेन । अब उनी स्थिति सामान्य भएपछि पाइपलाइनमा रहेका ‘परदेशी २’, ‘सुदूर’ र ‘गोर्खा वारियर’ मा व्यस्त हुनेछिन् । ‘चालबाज’ को छायांकन सकाएर बसेकी उनले विकासराज आचार्यको ‘नाईं नभन्नू ल ६’ मा काम गर्ने पनि प्रवल सम्भावना छ ।
अभिनेत्री वर्षा बेला बखतमा पहिरनका कारण चर्चामा छाइरहेकी हुन्छिन् । उनलाई दर्शकहरुले साडीमा भने निकै कम देखेका छन् । हालै एक म्यूजिक भिडियोमा विवाहित महिलाको भूमिकामा देखिन उनले खैरो रंगको साडी, सिउँदोमा सिन्दूर र गलामा पोते लगाएकी थिइन् । साडीमा निकै खुलेकी छन्, उनी । अब वास्तविक रुपमा सिउँदोमा सिन्दूर लगाउने चाहिँ कहिले हो कुन्नी ?
तस्विर : विवेक बस्याल

