
सेलिब्रेटीको प्रेम चर्चा चल्नुलाई सामान्य रुपमा लिइन्छ । पब्लिक फिगर भएका कारण उनीहरु कसैसँग नजिक छन् भने पनि मिडियामा प्रेमको खबर छापिन्छ । यसमा कति सत्यता हुन्छ त कति निराधार । नेपाली कलाकारको प्रेम सम्बन्धको चर्चाले बेला बखतमा फिल्म क्षेत्र गर्माउने गरेको छ । विशेषगरि फिल्म प्रदर्शन हुने समयमा कलाकारको प्रेम सम्बन्धको चर्चा चल्ने गर्दछ ।
कति कलाकार करिअरलाई असर पर्ने डरले प्रेम सम्बन्ध स्विकार गर्न खोज्दैनन् । कति भने यी कुराको प्रवाह नगरी खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सहारा कार्की भने लुकिछिपी प्रेम गर्नेमा पर्दिनन् । उनले सामाजिक सञ्जालको माध्यमबाट प्रेमीप्रति आफ्नो प्रेमभाव दर्शाइरहेकी हुन्छिन् ।
उनी लामो समयदेखि उद्घोषक तथा कलाकार फिरोज तिमल्सिनाको प्रेममा छिन् । उनीहरुले ‘दर्पण छायाँ २’ मा सँगै काम गरेका थिए । यही फिल्ममा काम गर्ने क्रममा उनीहरुबीच गहिरो मित्रता कायम भएको थियो भने २०१८ बाट प्रेममा डुबेका थिए । सहारा र फिरोज अहिले अमेरिकामा छन् । सहारा फिल्ममा प्रवेश गर्नुभन्दा अगावैदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी थिइन् ।
सहाराले सन् २०१८ को डिसेम्बर, २०१९ को मे, २०२० को जनवरी, अप्रिल र अगस्टमा प्रेमी फिरोजसँँगका रोमान्टिक तस्विरहरु इन्स्टाग्राममा पोस्ट्याएकी छन् । उनले गएको अगस्ट १८ मा ‘माई किंग’ भन्दै प्रेमीलाई जन्मदिनको शुभकामना दिएकी थिइन् । यी दुईले हालै ‘मेरी प्रिया’ नामक एक गीतको म्यूजिक भिडियोमा अभिनय पनि गरेका छन् । गीतमा फिरोज स्वयंको स्वर छ ।
सहाराको कुरा गर्ने हो भने उनले ‘दर्पण छायाँ २’ पछि कुनै फिल्ममा काम गरेकी छैनन् । यो फिल्ममा उनको अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । समीक्षकले उनलाई सम्भावना बोकेको अभिनेत्री भनेका थिए । तर, फिल्म असफल भएपछि उनी अमेरिका फर्किइन् । अब उनी फिल्ममा कमब्याक गर्ने पक्षमा देखिएकी छैनन् । उनी फिरोजको प्रेममा खुसी छिन् ।

