
६ महिना लामो लकडाउन र निषेधाज्ञामा बन्द रहेका विभिन्न क्षेत्र अहिले सञ्चालनमा आएका छन् । तर, फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा रोक लगाएको छ । आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर सरकारले फिल्म क्षेत्र खोल्न दिनुपर्ने हो । तर, सरोकारवाला पक्षले बालुवाटारसम्म पुग्ने दबाब दिन सकेका छैनन् ।
सरकारले चाँडै छायांकन अनुमति दिने आशमा केही निर्माताहरुले भने नयाँ फिल्मको घोषणा गरिरहेका छन् । यसबीच, ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सत्यम’ को घोषणा गरिएको छ । छायांकन अनुमति पाएपछि फ्लोरमा जाने फिल्मलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । फिल्ममा श्याम मल्ल कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
नवयूग सिनेमाको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्माता सापकोटा आफैंले लेखेका हुन् । उनलाई रामकुमार श्रेष्ठले लेखनमा सघाएका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने फिल्मको सह निर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । विदूर पाण्डे छायाँकार रहने फिल्म ‘सत्यम’ का लागि कलाकार भने छनोट नभएको निर्देशक कार्कीले जानकारी दिए ।
उनका अनुसार, अहिले फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ । उनले फिल्मको बारे जानकारी दिँदै भने- ‘नेपाली समाजभित्र एक जना नायक हुन्छ । ‘सत्यम’ ले यस्तै एक नायकको कथा भन्नेछ । फिल्ममा नयाँ र पुराना दुवै कलाकारको अभिनय रहनेछ ।’ यो फिल्मपछि उनको पाइपलाइनमा ‘काँडेतार र आधा अंश’ छन् । उनी निर्देशित ‘जस्मिन’ भने प्रदर्शनको पखाईमा छ ।

