फिल्म निर्माण र प्रदर्शन नहुँदै त्यसको सिक्वेल घोषणा गर्ने बानी नेपाली फिल्मकर्मीहरुको पुरानै हो । मिडियामा क्षणिक चर्चामा आउन सिक्वेल घोषणा गरेर आत्मरतीमा रमाउन उनीहरुलाई अलिकता पनि हिनताबोध हुँदैन । तर, जब फिल्म हलमा पत्तासाफ हुन्छ तब सिक्वेल त टाढाको कुरा निर्माता-निर्देशकको नाक-मुख देखिन्न । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण कयैन् छन् ।
निर्देशक मिलन चाम्सले पनि फिल्म ‘बोबी २’ को घोषणा गरेको लामो समय भइसकेको छ । ‘बोबी’ ले सन्तोषजनक व्यापार गरेपछि उनले सिक्वेल घोषणा गरेका थिए । तर, अहिले उनी यो फिल्मको विषयमा चुइक्क पनि बोल्दैनन् । लकडाउनभन्दा अगाडि उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ घोषणा गरेका थिए । कोरोनाका कारण फिल्म फ्लोरमा जान सकेको छैन ।
.jpg)
लकडाउन खुकुलो भएपछि निर्देशक चाम्स नयाँ फिल्मका लागि लोकेशन खोज्न विभिन्न ठाउँ पुगे । उनले कोरोनाका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन सानो बजेटमा फिल्म बनाउन लागेको जानकारी दिएका थिए । तर, अहिले उनको बोली फेरिएको छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘गोर्खा वारियर २’ का लागि लोकेशन खोज्न गएको बताएका छन् ।
निर्देशक चाम्सले भनेका छन्, ‘यो फिल्मको छायांकन मलेशियामा हुने हो । तर, केही भाग मलेशियाको नेपालमा चिट गरेर खिँदैछौं । त्यसैका लागि लोकेशन हेर्न गएका थियौं ।’ कोरानाका कारण ‘गोर्खा वारियर’ को छायांकन तत्काल सम्भव नभएपछि लकडाउनमा दोस्रो पार्टको स्क्रिप्ट लेखिसकेको र तेस्रो-चौथो पार्टको पनि स्क्रिप्ट तयार भइसकेको उनले बताएका छन् ।
‘गोर्खा वारियर’ को चार श्रृंखलासम्म बन्ने तर सिक्वेल भने नरहेको उनी बताउँछन् । ‘गोर्खालीहरुको सयौं कथा छ । त्यसमध्येको केही कथा चार श्रृंखलामा देख्न पाइनेछ,’ चाम्सले भनेका छन् । तर, ‘गोर्खा वारियर’ नै कहिले निर्माण हुने टुंगो छैन । यो अवस्थामा फिल्मको चार श्रृंखला बनाउने उद्घोष गर्नु भनेको ‘छोरा पाउनु कहिले-कहिले, भोटो सिलाउने अहिले’ भने झैँ हो । कि कसो ?

