Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक पाठकको प्रश्न- ‘असोज १ गते ‘राष्ट्रिय चलचित्र दिवस’ कसरी ?’

फिल्मीखबर, काठमाण्डौ, 2020/09/18
 
नेपाली फिल्म क्षेत्रले करीब ६ दशक लामो इतिहास बोकेको छ । ‘आमा’ देखि नेपालमा औपचारिक रुपमा फिल्म निर्माण हुन थालेको थियो । केही वर्षयता वर्षमा सरदर सयको आसपासमा फिल्म निर्माण हुने गरेका छन् । हजारौं व्यक्ति यस क्षेत्रमा आश्रित छन् । तर, आजका दिनसम्म हरेक फिल्मकर्मीले स्विकार गर्न सक्ने गरि नेपाली फिल्म क्षेत्रले स्वायत्त दिवस पाउन सकेको छैन । 
 
२०६८ सालमा चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने निर्णय गरेको थियो । तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले २०६८ असोज १ गते धुमधामका साथ चलचित्र दिवस सम्पन्न गरे । त्यसपछि बोर्डले न चलचित्र दिवस मनायो न सम्झियो । बिहीवार (हिजो) चलचित्र दिवसको अवसरमा केही फिल्मकर्मीले सामाजिक सञ्जालमा शुभकामना आदान-प्रदान गरे । 
 
तर, चलचित्र विकास बोर्डले भने ‘चलचित्र दिवस’ सम्झिएन । जसले गर्दा फिल्मकर्मीहरु पनि असोज १ गतेलाई चलचित्र दिवस मान्ने वा नमान्ने भन्नेमा अन्योल छन् । निर्देशक केपी पाठकले शुक्रवार फेसबुकमा एक स्टाटस लेख्दै नेपाली चलचित्रको अथवा विश्व चलचित्रको कुनै साइनो नै नभएको दिन असोज १ गते नेपालको ‘राष्ट्रिय चलचित्र दिवस’ कसरी भयो ? भनेर प्रश्न गरेका छन् । 
 
 
(चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारी)
 
यसअघि पनि केही फिल्मकर्मीले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउनु पर्ने कुनै आधार नभएको बताएका थिए । किनकि, यो मितिमा नेपाली फिल्म निर्माण र प्रदर्शन भएको इतिहास छैन । तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले असोज १ गतेलाई ‘चलचित्र दिवस’ घोषणा गर्दा आफूले सान्दर्भिक नभएको भन्दै विरोध जनाएको निर्देशक केपी पाठक स्मरण गर्छन् । 
 
उनले भने- ‘मैले नेपाली फिल्मको साइनो नै नभएको दिन चलचित्र दिवस मनाउनु हुन्न भनेर यसबेला नै आवाज उठाएको थिएँ । तर, तत्कालीन बोर्ड अध्यक्षले मान्नु भएन । किनकि, त्यसबेला मन्त्रीले उहाँको राजीनामा मागेको अवस्था थियो । एक/दुई दिनमा राजीनामा दिनुपर्ने थियो । आफ्नै कार्यकालमा यो काम गर्दा इतिहासमा सम्झिनेछन् भनेर हतारमा घोषणा गर्नुभएको थियो ।’ 
 
 
(राष्ट्रिय चलचित्र दिवस-२०६८ को अवसरमा आयोजित र्‍यालीमा सहभागी हुँदै फिल्मकर्मी) तस्विर  : पिएनपी मिडिया 
 

तत्कालीन बोर्ड अध्यक्षको व्यक्तिगत आकांक्षाले फिल्म क्षेत्रलाई फाइदा नगरेको उनको भनाई छ । यो विषयमा फिल्मकर्मीबीच बहस हुनुपर्ने भए पनि कसैलाई चासो नभएको उनले गुनासो गरे । उनी अगाडि भन्छन्, ‘कुनै न कुनै कुरामा परिवर्तन भएको दिनलाई दिवसको रुपमा मान्ने गरिन्छ । असोज १ गते फिल्म क्षेत्रमा यो काम भएको थियो भनेर खोइ बोर्डले स्पष्ट पार्न सकेको ?’

 
केपी पाठक असोज १ गते ‘सत्य हरिशचन्द्र’ वा ‘आमा’ को निर्माण र प्रदर्शन भएको जानकारी आफूलाई नभएको बताउँछन् । अन्य फिल्मकर्मीलाई पनि यो दिन नेपाली फिल्म इतिहासमा के भएको थियो भन्ने जानकारी नभएको उनले बताए । नेपाली फिल्मको इतिहाससँग दिवसको साइनो हुनुपर्ने उनको तर्क छ । बोर्डलाई चलचित्र दिवसको मिति सच्चाउन उनको आग्रह छ ।
Most Visited News (monthly)