सदावहार अभिनेताको रुपमा चिनिएका भुवन केसीले बिहीवार आफ्नो ६२औं जन्मदिन मनाउँदैछन् । २०१५ साल असोज १ गते काठमाडौंमा जन्मिएका उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मीसँगै दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तीन दशकभन्दा लामो समयदेखि फिल्ममा सक्रिय रहेका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए ।
रेडियो नेपालमा ‘मायालु तिमी कता छौ ?’ गीत रेकर्ड गराएका उनी नेपाली म्यूजिक भिडियो दुनियाँका पहिलो मोडल समेत हुन् । आफ्नो आवाज रहेको गीतमा उनी स्वयंले अभिनय गरेका थिए । सन् १९८१ मा फिल्म ‘जुनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनलाई फिल्म ‘सम्झना’ बाट सफलता मिलेको थियो । यसपछि उनले आफ्नो फिल्म करिअर कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
भुवन केसीको करिअरको सबैभन्दा ब्लकबस्टर र सम्झनलायक फिल्मको रुपमा तुलसी घिमिरे निर्देशित ‘कुसुमे रुमाल’ लाई लिने गरिन्छ । सन् १९९३ मा आएको यो फिल्मले उनलाई सफलताको उत्कर्षमा पुर्याएको थियो । तीन दशक लामो अभिनय करिअरमा सयभन्दा बढी फिल्ममा अभिनय गरेका उनलाई सर्वाधिक सफल र सम्झनलायक फिल्म दिने अभिनेता भन्ने गरिएको छ ।
(1)(2).jpg)
‘सन्तान, कन्यादान, चिनो, दुई थोपा आँशु, करोडपति, नेपाली बाबु, सुपरस्टार’ लगायतका फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो पटक फिल्म ‘मिस्टर नेपाली’ मा देखिएका थिए । तर, यो फिल्म सफल हुन सकेन । पछिल्लो समय उनी अभिनयभन्दा फिल्म निर्माणमा बढी सक्रिय छन् । छोरा अनमोलले आफ्नो बिडो थामेपछि उनले अभिनयलाई खासै प्राथमिकता दिएका छैनन् ।
फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा समेत हात हालेका उनी अहिले ‘पारस’ को तयारीमा छन् र यसपछि फिल्म ‘एन्टी हिरो’ को निर्माण गर्दैछन् । यो फिल्ममा उनले छोरा अनमोलसँग स्क्रिन शेयर गर्नेछन् । फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् । उमेरले ६० वर्ष नाघेपछि पहिरन र फिटनेशका कारण जवान देखिने भुवन केसी बेला बखतमा चर्चा र विवादमा छाइरहेका हुन्छन् ।
पहिलो श्रीमती विजया केसीसँग डिभोर्स भएपछि उनले अभिनेत्री सुस्मिता बम्जनसँग विवाह गरेका थिए । तर, उनको दोस्रो विवाह पनि टिक्न सकेन । विजयाबाट उनको एक छोरा र एक छोरी छन् भने सुस्मिताबाट जन्मिएका हुन्, अनमोल । सुस्मिताबाट अलग भएपछि केही वर्षयता अभिनेत्री जीया केसीसँग लिभिङ टुगेदरमा रहेका उनको एक समय धेरै युवतीसँग नाम जोडिएको थियो ।
अहिले उनी अभिनेत्री साम्राज्ञी आरएल शाहका कारण विवादमा फसेका छन् । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा राम्रो व्यवहार नगरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले यो मुद्धा अदालतसम्म पुगेको छ । भुवन केसीले आफूमाथि झुटा आरोप लगाएर मानमर्दन गरेको भन्दै साम्राज्ञीविरुद्ध मुद्धा दर्ता गर्दै १० करोड क्षतिपूर्ति माग गरेका छन् ।
भुवन केसीसँगै बिहीवार अर्का अभिनेता दीलिप रायमाझीको पनि जन्मदिन परेको छ । फिल्म ‘भानुभक्त’ बाट अभिनय करिअर सुरु गरेका उनको एक समय नेपाली फिल्ममा चर्को बोलबाला थियो । फिल्म ‘दर्पण छायाँ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनी नृत्य र अभिनयमा उम्दा मानिन्छन् । उनी अभिनीत तथा निर्मित नयाँ फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ ।
नेपाली फिल्मका दुई कुशल अभिनेता भुवन केसी र दीलिप रायमाझीलाई जन्मदिनको शुभकामना ।

