Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो

फिल्मीखबर, काठमाण्डौ, 2020/09/15
अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ ।
 
प्रदीप र दिनेश एकअर्कासँग काम गर्न तयार भएपछि उनीहरुबीच विभिन्न कन्सेप्टमा कुराकानी भयो । त्यसमध्ये एक थियो, स्वर्गीय गायक अरुण थापाको बायोपिक । गायक थापाको बायोपिकमा काम गर्न प्रदीप राजी भए । निर्देशक राउत पनि सकारात्मक देखिए । तर, यो खबर मिडियामा आएपछि अरुण थापाको भूमिकामा प्रदीप नसुहाउने भन्दै मगर संघलगायतले विरोध जनाए । 
 
 
अब यो फिल्मको निर्माण पछाडि धकेलिएको छ । निर्देशक राउतले यस विषयमा फिल्मीखबरसँग भने- ‘अरुण थापाको बायोपिकमा प्रदीप हुने भन्ने कुरामा सत्य थिएन । ऊसँग स्क्रिप्टमा छलफल हुने क्रममा त्यस विषयमा कुराकानी चाहिँ भएको थियो । अब यो फिल्म तत्काललाई पछाडि सारेको छु । प्रदीपसँग गर्ने भनिएको फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ ।’  
 
नाम तय नभइसकेको फिल्ममा प्रदीप खड्काले २० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउत बताउँछन् । ‘आपसी सहमतिमा भएको कुरा बाहिर ल्याउन आवश्यक छ जस्तो मलाई लाग्दैन । कोरोना भाइरसले सिर्जना गरेको यो विषम परिस्थितिमा प्रदीपले पारिश्रमिक कम गरेको भने छ । यस विषयमा प्रदीपलाई नै सोध्नुहोला,’ उनले भने । 
 
प्रदीप पनि फिल्ममा आफूले बुझेको भन्ने पारिश्रमिकमा एक प्रतिशत पनि सत्यता नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘मैले पारिश्रमिकका लागि फिल्म गर्न लागेको होइन । तर, जति पारिश्रमिक मैले बुझेको भन्ने सुनेँ, त्यसमा सत्यता छैन ।’ उनी फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । अहिलेसम्म आफूलाई देखेको भूमिकाभन्दा दर्शकले भिन्न पाउने उनको भनाई छ ।
 
फिल्ममा प्रदीपले गाउँले युवकको भूमिका निभाउँदैछन् । विकास सुवेदीले अहिले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्मका लागि अभिनेत्री भने छनोट गरिएको छैन । प्रदीपले यो फिल्मपछि ‘हुतुतु’ र हेमराज विसीको फिल्म गर्नेछन् । पहिलो पटक दिनेश राउत र प्रदीप खड्काको जुगलबन्दी कस्तो हुने हो ? धेरैलाई चासो छ ।
Most Visited News (monthly)