
फिल्म क्षेत्रमा कलाकारबीच सुमधुर सम्बन्ध कायम भएको विरलै देख्न पाइन्छ । केही कलाकार भने एकअर्कासँग नजिक पनि छन् । पुष्प खड्का र पल शाह, पूजा शर्मा र शिल्पा पोखरेल, रीमा विश्वकर्मा र केकी अधिकारी, स्वस्तिका खड्का र नाजिर हुसेनलगायतका कलाकारको एकअर्काबीच प्रगाढ सम्बन्ध छ । तर, फिल्म क्षेत्रमा मित्रता र दुश्मनी दिगो हुँदैन भन्ने गरिन्छ ।
आफ्नै दुनियाँमा रमाउन चाहने अभिनेता अनमोल केसीको भने फिल्म क्षेत्रमा सबैभन्दा मिल्ने साथी सलोन बस्नेत हुन् । फिल्म ‘होस्टेल’ बाट एकसाथ अभिनेताको रुपमा डेब्यू गरेका उनीहरुले ‘गाजलु’ र ‘ए मेरो हजुर ३’ मा सँगै काम गरिसकेका छन् । फिल्म ‘कृ’ पछि अनमोल अभिनेता अनुप विक्रम शाहीसँग पनि नजिक भएका छन् । उनीहरुको बेला मौकामा भेटघाट भइरहेको हुन्छ ।
फिल्म ‘कृ’ मा उनीहरुको केमेस्ट्री दर्शकहरुले निकै रुचाएका थिए । यी दुई ह्यान्डसम हंकलाई फेरि पर्दामा हेर्ने दर्शकको चाहना छ । आइतवार अनुपले आफ्नो इन्स्टाग्राममा अनमोलसँगको एक तस्विर पोस्ट गरेपछि उनीहरुले फिल्म ‘पारस’ मा काम गर्न लागेको चर्चा सुरु भएको छ । तर, फिल्मको विषयमा कुराकानी गर्न आफूहरुबीच भेट नभएको अनुपले स्पष्ट पारेका छन् ।
उनले भने, ‘मलाई भेट्न अनमोल भैंसेपाटी आएको थियो । फिल्म इन्डस्ट्रीमा ऊ मेरो सबैभन्दा प्यारो भाई हो । सायद, उसको पनि म प्यारो दाई होला । भेटघाट नभएको लामो समय भएकाले अनमोल भेट्न आएको थियो । तर, कुनै फिल्मका लागि हामीबीच भेट भएको भने होइन । भोलीका दिनमा राम्रो स्क्रिप्टबाट अफर आएको अवस्थामा मलाई अनमोलसँग काम गर्न समस्या छैन ।’

