Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको फिल्म करिअर कति सुखद ?

फिल्मीखबर, काठमाण्डौ, 2020/09/14
अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना सोमवार आफ्नो जन्मदिन मनाउँदैछिन् । अघिल्ला वर्षमा आफ्नो जन्मदिनमा विशेष कार्यक्रम राख्ने गरेकी उनी यसपटक कोरोनाका कारण सामान्य रुपमा मनाउँदैछिन् । भलाद्मी अभिनेत्रीको रुपमा चिनिएकी उनलाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।
 
नीताले बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी थिइन् । सन् २००२ मा निर्माण भएको फिल्म ‘मितिनी’ मा उनी बाल कलाकारको रुपमा थिइन् । यसपछि उनले सन् २००८ मा फिल्म ‘अजम्बरी नाता’ मा अभिनय गरिन् । उनले लिड अभिनेत्रीको रुपमा भने फिल्म ‘किसान’ बाट ब्रेक पाएकी थिइन् । अहिलेसम्म उनले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।
 
 
विवादबाट टाढै रहने नीताले दुई दशक लामो अभिनय करिअरमा थोरै मात्र सम्झनलायक फिल्ममा काम गरेकी छन् । र, एकाध फिल्मले मात्र बक्सअफिसमा नाफाको व्यापार गरेका छन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने कहिल्यै असर गरेन । आजको समयमा उनी व्यस्त अभिनेत्रीको रुपमा गनिन्छिन् । यो हिसाबमा उनको फिल्म करिअर सुखद मान्न सकिन्छ । 
 
नीर शाह निर्देशित फिल्म ‘मसान’ लाई नीताको सम्झनलायक फिल्मको रुपमा लिने गरिन्छ । यही फिल्मबाट उनले सहायक अभिनेत्रीको रुपमा राष्ट्रिय अवार्ड समेत उचालेकी थिइन् । फिल्म ‘पञ्चायत’ मा गरेको अभिनयबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि चुमेकी उनलाई फिल्म ‘६ एकान ६’ ले दर्शकको ठूलो वर्गमा चिनाएको थियो । यो नै उनी अभिनीत पहिलो हिट फिल्म हो ।
 
‘नोटबुक, दबाब, निर्भय, फूलै फूलको मौसम तिमीलाई, वार, रातो टीका निधारमा, साइनो’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी लकडाउनभन्दा अगाडि फिल्म ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । अब उनी आफैं पनि फिल्म निर्माणमा तम्सिएकी छन् । उनी फिल्म ‘माया’ बाट निर्मात्री बन्दैछिन् । यसमा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ ।
 
अभिनयसँगै लभ लाइफका कारण पनि चर्चामा छाइरहने नीता फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका अभिनेता आमेष भण्डारीको प्रेममा थिइन् । तर, यो फिल्म रिलिज भएपछि उनीहरुको प्रेम सम्बन्धमा पूर्णविराम लाग्यो । गत वर्षदेखि नीताको नाम युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग जोडिएको छ । तर, उनले यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।
 
नेपाली फिल्मकी कुशल अभिनेत्री नीता ढुंगानालाई जन्मदिनको शुभकामना । 
Most Visited News (monthly)