Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३९ वर्षमा लागे जीवन लुईंटेल

फिल्मीखबर, काठमाण्डौ, 2020/09/10
 
पर्दामा लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी अभिनेता जीवन लुईंटेल बिहीवार आफ्नो ३९औं जन्मदिन मनाउँदैछन् । २०३८ साल भाद्र २५ गते मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका उनी केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् । फिल्मकर्मी तथा दर्शकहरुले उनलाई सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । 
 
२००२ मा मिस्टर नेपालको उपाधि जितेका उनले केही समय एभिन्यूज टेलिभिजनमा समाचार वाचकको रुपमा समेत काम गरेका थिए । उनलाई मुख्य अभिनेताको रुपमा विकासराज आचार्यले फिल्म ‘नसिब आफ्नो’ बाट ब्रेक दिएका थिए । जहाँ अभिनेत्री रेखा थापा उनको अपोजिटमा थिइन् । यसपछि उनले निर्देशक आचार्यका फिल्म ‘नाइँ नभन्नु ल’, ‘म तिम्रो भैसकें’ मा काम गरे । 
 
फिल्म ‘तिर्खा’ बाट अभिनय करिअर सुरु गरेका जीवनले ‘मेरो एउटा साथी छ, काफल पाक्यो, सानो संसार, ठूली, कसम हजुरको, नसिब आफ्नो, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाइँ नभन्नु ल २, स्टूपिड मन’ लगायत ६० भन्दा बढी फिल्ममा काम गरेका छन् । दश वर्ष फिल्म अभिनयमा सक्रिय रहेका उनी पुस्तक पढ्न, कविता कोर्न र खेलकुदमा रमाउन मन पराउँछन् । 
 
अभिनेता लुईंटेलले ‘नायक’ नामक एक कविताको पुस्तक समेत सार्वजनिक गरिसकेका छन् । अचेल उनी सामाजिक सञ्जाल फेसबुकमा कविता वाचन गरेका भिडियोहरु पोस्ट गरिरहेका छन् । फिल्मकर्मीहरु उनलाई बौद्धिक नायक समेत भन्ने गर्दछन् । उनी हरेक कुरालाई तर्कसहित पेश गर्न सिपालु मानिन्छन् । रोमान्टिक नायकको छवि बनाएका जीवन दुई सन्तानका पिता हुन् । 
 
नेपाली फिल्मका कुशल अभिनेता जीवन लुईंटेललाई जन्मदिनको हार्दिक शुभकामना ।
Most Visited News (monthly)