Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक छेतन गुरुङको अन्त्येष्टि

फिल्मीखबर, काठमाण्डौ, 2020/09/10
 
निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । मंगलवार काठमाडौंको मेट्रो अस्पतालमा निधन भएका उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । तीन दिन अगाडि कलेजोमा समस्यामा देखिएपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
 
 
निर्देशक गुरुङप्रति अन्तिम श्रद्धाञ्जली दिन गुम्बामा विभिन्न फिल्मकर्मीहरु पुगेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै प्रदीप खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, झरना थापा, दिनेश राउत, सन्तोष सेन, कविराज गहतराज, क्रिस्टिना गुरुङलगायत विभिन्न फिल्मसँग सम्बन्धित संघ संस्थाका व्यक्तिहरुले पुष्पगुच्छासहित उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
 
फिल्म ‘नोभेम्बर रेन’ को कथा लेखेर आफ्नो लेखन यात्रा आरम्भ गरेका छेतन गुरुङ फिल्म ‘डमरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित दोस्रो फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनको यो ड्रिम प्रोजेक्ट थियो । तर, उनले यो फिल्म हेर्न नपाइ संसारबाट विदा लिएका छन् । केही महिनायता उनी कमेडी फिल्म ‘हुतुतु’ को स्क्रिप्ट लेखनमा व्यस्त थिए ।
 
 
२०३५ साल माघ २२ गते काठमाडौंमा जन्मिएका उनले ७ कक्षासम्म मात्र अध्ययन गरेका थिए । उनले करीब २ वर्ष बौद्धमार्गीको विशेष शिक्षा लिएर लामा पनि बनेका थिए । त्यही हुँदा उनले ‘नोभेम्बर रेन’ को कथा तयार पारेका थिए । १८ वर्षको उमेरमा बैबाहिक जीवनमा बाँधिएका उनको एक छोरी छिन् । उनकी श्रीमती छिरिङ डोल्मा गुरुङको यसअघि नै निधन भइसकेको छ । 
Most Visited News (monthly)