
तेलुगू फिल्मका चर्चित कलाकार जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार विहान ७४ वर्षको उमेरमा उनको गुन्टूरस्थित आफ्नो घरमा हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि उनी बाथरुममा लडेका थिए । सानै उमेरदेखि अभिनयमा होमिएका उनी एक शिक्षक थिए । फिल्ममा प्रायः नेगेटिभ र कमेडी भूमिकामा देखिएका उनको पहिलो फिल्म ‘ब्रह्म पुत्रुदु’ थियो ।
तर, यो फिल्मबाट उनले सफलता प्राप्त गर्न सकेनन् । करीब एक दशकपछि उनले फिल्म ‘प्रेमिचुकन्दम रा’ मा काम गरे । तर, बालकृष्ण स्टारर ‘समरसिम्हा रेड्डी’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसबाट भिलेनको रुपमा उनलाई पहिचान मिलेको थियो । उनले ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका फिल्ममा काम गरेका छन् ।
उनको निधनले तमिल र तेलुगूमा शोक छाएको छ । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडूसँगै तेलुगू फिल्मकर्मीहरुले जय प्रकाश रेड्डीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अभिनेत्री रकुल प्रीतले ट्विटरमा लेखेकी छन्, ‘मैले उहाँसँग कयैन फिल्ममा काम गरेको छु । उहाँको निधनले एकदमै दुखी छु । परिवारप्रति समवेदना । जय प्रकाश रेड्डी गुरुको आत्मालाई शान्ति मिलोस् ।’
त्यस्तै, अभिनेता जूनियर एनटीआरले लेखेका छन्, ‘आफ्नो जबरजस्त अभिनयबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अभिनेताको निधनको खबर सुनेर एकदमै दुखी छु । दिवंगत आत्माको शान्तिको कामना गर्छु ।’ अभिनेता महेश बाबूले पनि उनको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । जय प्रकाश रेड्डी पछिल्लो पटक फिल्म ‘सरिलेरु नीकेवरु’ मा देखिएका थिए ।

