भारतमा कोरोना भाइरसको प्रकोप फैलिएपछि रोजगारीको शिलशिलामा रहेका हजारौं नेपाली रोगको भयले देश फर्किए । यो समय परिवारसँग विताउने सपना बुनेर स्वदेश फर्किएकाहरु अहिले धमाधम भारत पस्दैछन् । विकल्पहीन शैलीमा गरिएको लकडाउनले दैनिक गुजरा चलाउन पनि समस्या भएपछि उनीहरु रोजगारीका लागि बाध्यताबस् भारत फर्किन थालेका हुन् ।
.jpg)
यतिबेला नेपालमा भन्दा भारतमा कोरोनाको भयावह स्थिति छ । यो समयमा आफ्ना नागरिकलाई स्वदेशमै राखेर दैनिक गुजरा चल्नसक्ने रोजगारी सरकारले उपलब्ध गराउनु पर्ने हो । तर, सरकार जनताका समस्याप्रति गम्भीर हुनुभन्दा सत्ता कसरी जोगाउने भन्नेमा रुमलिएको छ । संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले आम मानिस रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेका छन् ।
अभिनेत्री गौरी मल्लले रोजीरोटीका लागि भारत फर्किन थालेका नेपालीलाई सरकारको अनुभूति दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले मंगलवार फेसबुकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेकी छन्, ‘हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई ‘ए मेरा प्यारा नेपाली नागरिकहरु, भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमा बस जे गर्न पर्छ हामी गर्छौं’ भनेर किन भन्न सकिरहेको छैन ? सम्माननीय प्रधानमन्त्रीज्यू यो मेरो प्रश्न यहाँलाई नै हो ।’
उनी थप्छिन्, ‘कोरोनाको प्रकोपसँगै नेपालले आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो, नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो तर यी सब कुराहरुसँग सरकारलाई कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट देखियो ।’ प्रधानमन्त्रीलाई आफूले बोलेका वक्तब्य रमाइलो गर्ने माध्यम भइरहे पनि सर्वसाधारणलाई लज्जाबोध भएको उनको भनाई छ ।
उनले ठूलो विश्वास गरेर देशको शिर्षस्थानमा राखेको व्यक्ति गर्वको पात्र बनेको हेर्न चाहेको भए पनि आफ्नो जीवनमा त्यो दिन नआउने बताएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्यो । सानातिनाजस्तो हुन्छ रोजगार दिन तर्फ लाग्नु पर्यो । नागरिकको दुख, समस्या, विपद्, बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासँग भिज्नु पर्यो ।’
उनले देशलाई घर र जनतालाई परिवार ठान्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीलाई सुझाव दिँदै उनले थपेकी छन्, ‘आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो ।’ सिंहदरबार र वालुवाटारभन्दा बाहिर पनि नेपाल रहेको नविर्सन उनको आग्रह छ ।

