
नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, सुदर्शन थापा । लभस्टोरी फिल्ममा माइलस्टोन सावित भएका ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो उम्दा फिल्म दिएर दर्शकको विश्वास जितेका उनी आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३७ वर्षमा प्रवेश गरेका उनको सेप्टेम्बर ६, १९८३ मा जन्म भएको हो । उनले ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ फिल्ममा अभिनय पनि गरेका थिए ।
उनको पहिलो निर्देशकिय फिल्म ‘मेरो एउटा साथी छ’ हो, जुन सन् २००९ मा प्रदर्शनमा आएको थियो । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको करिअरको टर्निङ पोइन्ट मानिएको यो फिल्मले सुदर्शनलाई कुशल निर्देशकको रुपमा स्थापित गरेको थियो । आजका दिनसम्म पनि दर्शकको मनमा बस्न सफल यो फिल्मले आर्यन र नम्रताको स्टारडम उत्कर्षमा पुर्याएको थियो ।
युवापुस्तालाई आकर्षित गर्ने प्रेमकथा बुन्न सिपालु मानिने उनले ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । ‘मेरो एउटा साथी छ’ पछि उनी निर्देशित उम्दा फिल्मको रुपमा ‘प्रेमगीत’ लाई लिने गरिन्छ । यो फिल्मले प्रदीप खड्का र पूजा शर्मालाई रातारात स्टार बनाएको थियो ।
त्यस्तै, ‘म यस्तो गीत गाउँछु’ ले अभिनेता पल शाहको करिअर उत्कर्षमा पुगेको थियो भने ‘रामकहानी’ बाट अभिनेता आकाश श्रेष्ठ चम्किएका थिए । निर्देशक थापालाई फिल्मकर्मी तथा दर्शकले स्टार उत्पादनका कारखाना समेत भन्ने गरेका छन् । यस प्रकारको प्रशंसाले आफ्नो कामको स्याबासी भएको मान्छन्, उनी । आफूले प्रतिभा चिनेर अवसर दिने गरेको उनको भनाई छ ।
उनी भन्छन्, ‘मेरो कारणले कोही स्टार हुने होइन । मैले प्रतिभा चिनेर अवसर दिने गरेको छु । केही कलाकार मेरा फिल्मबाट स्टारको रुपमा उदाएका छन् । केही मेरो फिल्म गर्नुभन्दा अगाडि नै स्थापित थिए । उहाँहरु सबैको सफलताबाट म एकदमै खुसी छु । उहाँहरुले सफलता पाउँदा आफूले पाएको जस्तो महशुस हुँदो रहेछ । म सधैं उहाँहरुको सुन्दर भविष्यको कामना गर्छु ।’
‘धन्दा’ यता सुदर्शन लभस्टोरी जनराका फिल्ममा मात्र सिमित भएका छन् । यसकारण उनलाई फरक धारका फिल्म निर्देशन गर्न नसक्ने आरोप पनि लाग्दै आएको छ । यस विषयमा उनी भन्छन्, ‘लभस्टोरी जनरा मेरो कन्फर्ट जोन हो । फरक फिल्म गर्ने मनै नभएको चाहिँ होइन । तर, त्यसप्रकारको स्क्रिप्ट भेटेको छैन । भोलीका दिनमा केही फरक फिल्म गर्ने सोच भने बनाएको छु ।’
फिल्म ‘महशुस’ पछि सुदर्शनले आफू निर्देशित हरेक फिल्ममा अभिनेत्रीको रुपमा पूजा शर्मालाई दोहोर्याउँदै आएका छन् । एकअर्काको गहिरो प्रेममा रहेका कारण उनीहरुको सहकार्यले निरन्तरता पाएको भन्ने पनि फिल्मवृतमा चर्चा छ । तर, दुवैले प्रेम सम्बन्धलाई भने नकार्दै आएका छन् । ‘म यस्तो गीत गाउँछु’ यता उनीहरुबीच फिल्म निर्माणमा पनि सहकार्य हुँदै आएको छ ।
सुदर्शन राम्रा गीतकार पनि हुन् । उनले सिर्जना गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज मनका कुरा’ बोलको गीत निकै लोकप्रिय छ । उनले आफ्ना फिल्ममा गीतसंगीतलाई विशेष महत्त्व दिने गरेका छन् । उनी निर्देशित दुई फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ भने कोरोना महामारीपछि एक फिल्मको छायांकन आरम्भ गर्दैछन् ।

