
नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् ।
सिरियलमा आफूले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी दिँदै निरिषाले भनेकी छन्, ‘मेरो क्यारेक्टर चीनको हिङडोङ्ग राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ ।’ सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ । त्यस्तै, उनको संवाद बोल्ने शैली र हाउभाउ निकै रोचक छ ।
निरिषाले सिरियलको प्रोमो सार्वजनिक भएसँगै आफ्नो फस्टलुक पनि सार्वजनिक गरेकी छन् । तस्विरमा उनलाई चिनियाँ पहिरनमा हातमा तरवार बोकेको देख्न सकिन्छ । उनको भिन्न गेटअप र भूमिकाले सिरियलप्रति दर्शकको चासो बढेको छ । सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।
निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो । यसपछि उनले नेपाल आएर फिल्म ‘जानी नजानी’ मा काम गरेकी थिइन् । यो फिल्मको असफलताले निराश भएकी उनी अहिले भारतको मुम्बईमा बस्दै आएकी छिन् । लकडाउनअघि एक साउथ फिल्म साइन गरेकी उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन् ।
प्रोमो हेर्नुहोस् :-

