नेपाली फिल्ममा निकै कम जोडीलाई दर्शकहरुले मनपराएका छन् । त्यसमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडी पर्छ । ‘आँप जोडी’ को रुपमा चिनिएका उनीहरुले ‘नाईं नभन्नू ल ४’ बाट फिल्म करिअर एकसाथ सुरु गरेका थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यसपछि उनीहरुले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा एकसाथ काम गरे ।
सयौं म्यूजिक भिडियोमा काम गरिसकेका पल र आँचल ‘जोनी जेन्टलम्यान’ रिलिजताका एकअर्काको प्रेममा रहेको चर्चा चल्यो । तर, उनीहरुले कहिल्यै प्रेम सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेनन् । दुवैले आफूहरु मिल्ने साथी रहेको मात्र बताइरहे । दर्शकहरु भने यो जोडीलाई वास्तविक जीवनमा नै एक भएको हेर्न चाहन्थे । तर, अब यो सम्भावनामा पूर्णविराम लागेको छ ।
 2(1)(2).jpg)
गत वर्ष आँचल बैबाहिक जीवनमा बाँधिएकी छन् । उनको रिसेप्सन पार्टीको अघिल्लो दिन पल अभिनेत्री पूजा शर्माको साथमा मुक्तिनाथ दर्शनमा निस्किएपछि पल र आँचलको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, पलले आफूहरु अहिले पनि असल साथी रहेको बताएका छन् । एक अन्तर्वार्तामा उनले आँचललाई सुखद बैबाहिक जीवनको शुभकामना पनि दिएका छन् ।
आफूलाई मनपर्ने अभिनेत्रीको नाम लिँदै उनले भनेका छन्, ‘मलाई अभिनेत्रीमा निरुता सिंह, नम्रता श्रेष्ठ र आँचल शर्मा मनपर्छ ।’ उनले आँचललाई गुड ह्यूमन विइङ र राम्रो अभिनेत्री भनेका छन् । पलले आँचल र उदिपको जोडी राम्रो रहेको पनि बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुको जोडी एकदमै सुहाएको छ । आँचल मेरो राम्रो साथी हो । उहाँको बिहे भयो, खुसी छु ।’
उनले आँचलको रिसेप्सन पार्टीको समयमा आफू मुक्तिनाथमा रहेका कारण सहभागी हुन नपाएकोमा माफी मागेका छन् । ‘रिसेप्सन पार्टीको निम्ता आएको थियो । तर, त्यसबेला म मुक्तिनाथमा थिएँ,’ पलले भनेका छन्, ‘बिहे/व्रतमानमा गए साथी हुने र नगए दुश्मन हुने भन्ने हुँदैन ।’ उनले भविष्यमा आँचलसँग फिल्ममा काम गर्न आफूलाई समस्या नभएको पनि बताएका छन् ।

