Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्थिक समस्याले कोरोनाभन्दा अगाडि नै मर्नेछौं : अर्पण

फिल्मीखबर, काठमाडौं, 2020/09/03
 
संसारभर भयावह रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि नराम्रोसँग गाँजेको छ । यसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो साताबाट पाँच महिना लामो लकडाउन गर्‍यो । तर, संक्रमण नियन्त्रणमा आउन सकेन । लकडाउन अन्त्य भएपछि संक्रमितको संख्या दिनहुँ दोब्बरको संख्यामा बढिरहेको छ । यसबाट ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।
 
संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि अहिले राजधानीसहित विभिन्न शहरमा निषेधाज्ञा लागू गरिएको छ । देशको अर्थतन्त्रका मेरुदण्ड मानिने हरेक क्षेत्र बन्द हुँदा लाखौंको संख्यामा बेरोजगारी बढेको छ । विकल्पहीन शैलीमा गरिएको बन्दाबन्दीले आम मानिस रोकले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेको छ । तर, सरकार नागरिकका समस्याबारे गम्भीर देखिएको छैन ।
 
अभिनेता अर्पण थापाले कोभिड १९ सँग लड्न आम नागरिक सरकारलाई समर्थन गर्न तयार भएको तर यसका लागि सरकारले नागरिकहरूको आर्थिक समस्यामा ध्यान दिनुपर्ने बताएका छन् । यही अवस्था रहे कोरोनाभन्दा पहिला आफूहरु मर्ने उनको भनाई छ । जनताको आर्थिक, मानसिक र स्वास्थ्य स्थितिलाई बेवास्था गरे देश अव्यवस्थित ढंगले खस्कने उनी बताउँछन् ।
 
उनले बुधवार फेसबुक एक स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘मलाई लाग्छ कि हाम्रो सरकारसँग नागरिकप्रति उच्च जिम्मेवार हुने समय यही हो । यदि सरकारले जनताको आर्थिक, मानसिक र स्वास्थ्य स्थितिको तथ्यलाई बेवास्था गर्‍यो र वैधानिक समाधानको विकल्प खोजिएन भने देश धेरै अव्यवस्थित ढंगले खस्कन्छ र मानिसहरु भाइरसभन्दा अरु कुराले बढी पीडित हुनेछन् ।’
 

उनी अगाडि लेख्छन्, ‘हामी हाम्रो सरकारको समर्थनमा कोभिड १९ सँग मिलेर लड्नेछौं । तर, सरकारले नागरिकको आर्थिक समस्यामा ध्यान नदिए हामी कोरोनाभन्दा अगाडि नै मर्नेछौं । भगवान हाम्रो राम्रो स्वास्थ्यका लागि आर्शिवाद दिनुहोस् र हाम्रो सरकारलाई सही तरिकाले समाधान गर्ने आशिर्वाद दिनुहोस् ।’ भोको पेटले कोरोना विरुद्ध लड्न नसकिने उनको आशय छ ।
Most Visited News (monthly)