Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’ मा दोहोरिने भए विपिन र नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2020/09/03
 
०७५ सालमा प्रदर्शनमा आएको दिनेश राउत निर्देशित तथा सुवास थापा निर्मित फिल्म ‘प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो । यसका गीतसंगीत पनि दर्शकहरुले अत्याधिक रुचाएका थिए । नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत केन्द्रित भूमिकामा रहेको फिल्मले सन्तान नभएपछि दाम्पत्य जीवनमा आउने उतार-चढावको कथा पेश गरेको थियो । 
 
यतिबेला निर्माता सुवास थापा ‘प्रसाद’ को दोस्रो श्रृंखला निर्माणमा जुटेका छन् । कोरोनाको महामारी अन्त्यपछि छायांकनमा जाने गरि अहिले लेखक शुशील पौडेल स्क्रिप्टमा काम गरिरहेका छन् । ‘प्रसाद’ को कथा पनि उनैले तयार पारेका थिए । फिल्ममा निर्देशक भने परिवर्तन भएका छन् । सौरभ चौधरीले दिनेश राउतलाई रिप्लेस गर्दै फिल्म निर्देशनको जिम्मेवारी पाएका छन् ।
 
निर्देशक परिवर्तन भएका कारण ‘प्रसाद २’ मा विपिन, नम्रता र निश्चलले काम गर्ने सम्भावना न्यून रहेको चर्चा चलेको थियो । तर, विपिन र नम्रता फिल्म गर्न राजी भएका छन् । लेखक पौडेलका अनुसार, केही दिनअघि दुवैसँग कागजी सम्झौता भएको हो । निश्चलसँग मौखिक सहमति भए पनि निषेधाज्ञाका कारण भेट हुन नपाएका कारण कागजी सम्झौता हुन नसकेको उनले बताए । 
 
‘प्रसाद’ मा विपिन र नम्रता विवाहित जोडीको भूमिकामा थिए । यसको दोस्रो श्रृंखलामा भने उनीहरुबीच कसरी प्रेम अंकुराएको थियो भन्ने देखाइनेछ । नाम नै ब्रान्ड बनिसकेका कारण निर्माण नहुँदै ‘प्रसाद २’ प्रति दर्शकहरुको आशा र अपेक्षा उच्च छ । अभिनयमा उम्दा मानिने विपिन र नम्रता पुनः दोहोरिन तयार हुनुले फिल्मको स्क्रिप्ट तगडा बनेको हुनसक्ने धेरैको विश्वास छ ।
Most Visited News (monthly)