कोभिड १९ को संक्रमणबाट बच्न सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेपछि नेपालका हरेक क्षेत्र ठप्प भए । जसले हजारौंको संख्यामा बेरोजगार जन्मायो । ५ महिना लामो लकडाउनले आम मानिसको जनजीवन कष्टकर भएपछि सरकारले साउन पहिलो हप्ताबाट लकडाउन अन्त्य गर्यो । यसपछि विभिन्न क्षेत्र सञ्चालनमा आए । तर, फिल्म क्षेत्रमा खुल्न सकेन ।
कोरोनाका कारण फिल्म निर्माण रोकिँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । अहिले उनीहरुलाई विहान-बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । कलाकारहरु पनि बेरोजगार भएका छन् । निर्माण भइसकेको फिल्म प्रदर्शन हुन नसक्दा निर्मातालाई आर्थिक भार थपिएको छ भने छायांकन रोकिँदा लाखौं क्षति भएको छ । यतिबेला फिल्म क्षेत्रमा समस्यै समस्या छन् ।

कोरोनाका कारण सबैभन्दा ठूलो असर सिनेमा हललाई परेको छ । करोडौं ऋण लिएर खोलिएका सुविधा सम्पन्न हलहरु बन्द हुँदा हल सञ्चालकहरु चिन्तित छन् । कोरोना महामारीपछि पनि लामो समय सिनेमा हलले दर्शकको अभाव खेप्नुपर्ने देखिन्छ । किनकि, स्थिति सामान्य भएपछि मानिसहरु पहिला आफ्ना आवश्यकता पूरा गर्न लाग्नेछन् । त्यसपछि मात्र मनोरञ्जन खोज्नेछन् ।
कोरोनाले सिनेमा हललाई पारेको प्रभाव र कोरोना कहरपछि सिनेमा हललाई पुरानै लयमा फर्काउन के गर्नुपर्छ भन्ने विषयमा एपेक्स कलेजले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालकमध्ये एक भाष्कर ढुंगानासँग भर्जुअलमार्फत संवाद गर्ने भएको छ । ‘एपेक्स टक’ नाम दिइएको संवादमा शंकर श्रेष्ठले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दैछन् ।
आउँदो शुक्रवार दिउँसो साढे ४ बजेदेखि साढे ५ बजेसम्म एक घण्टा ‘एपेक्स टक’ नाममा खोलिएको फेसबुक पेजबाट भाष्कर ढुंगानासँग प्रत्यक्ष संवाद हुनेछ । यो बहसमा कोरोनाले सिनेमा हललाई परेको प्रभाव र यसबाट उठ्न के गर्नुपर्छ भन्ने विषयमा चर्चा हुने एपेक्स कलेजले बताएको छ । उक्त संवादमा कोरोनाले सपिङ हलमा परेको असरको बारेमा पनि छलफल हुनेछ ।

