
ठूलो लगानीमा निर्माण हुन लागेको नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ । रामकृष्ण पोखरेलले भुटानी निर्देशक टासी ग्याल्क्षेनसँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्म यो वर्ष छनोट भएका २२ फिल्ममध्ये एकमा पर्न सफल भएको हो । अक्टोबर ७ देखि १६ सम्म हुने फेस्टिभल यस वर्ष भर्चुअलमार्फत् सम्पन्न हुँदैछ ।
पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ ले सन् २०१८ मा बुसान फिल्म फेस्टिभलमा भएको प्रतिस्पर्धामा ‘फेप्रिस्की अवार्ड’ जित्न सफल भएको थियो । एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको ‘एपीएम’ मा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवानलगायतका देशका फिल्ममेकर छनोट भएका छन् ।
कोभिड १९ का कारण यो वर्षको फेस्टिभल भर्चुअलको माध्यमबाट हुनेछ । त्यसैले ‘एपीएम’ पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रुपमै सम्पन्न हुने निर्माता पोखरेलले जानकारी दिए । ‘एपीएम’ एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्नका लागि महत्त्वपूर्ण प्लेटफर्म रहेको उनको भनाई छ । ‘रिभर इन दि मिरर’ साढे ३ करोडको हाराहारीमा निर्माण हुने बताइएको छ ।

यो फिल्मले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमालाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिँडेको कथा प्रस्तुत गर्नेछ । पोखरेलले यसअघि ‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ आदि फिल्म बनाइसकेका छन् । जसमध्ये ‘माउन्टेन टु क्लाइम्ब’ ले नेपाललाई पहिलो पटक ‘एम्मी अवार्ड’ जिताएको थियो । उनले लुघ फिल्म ‘झालो’ र ‘तातिनी’ को पनि निर्माण गरिसकेका छन् ।

