(1).jpg)
अभिनेत्री श्वेता खड्काले फिल्ममा काम नगरेको २ वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् । यसपछि उनले एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि उनले फिल्मबाट हात झिकिन् । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी एक नयाँ फिल्ममा अनुबन्ध भएकी छन् ।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले काम गर्न लागेकी हुन् । फिल्ममा उनी आमाको भूमिकामा हुने जानकारी प्राप्त छ । तर, उनले आफूले निर्वाह गर्न लागेको भूमिका खुलाउन चाहेकी छैनन् । फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बुझिएको छ । फिल्मको कथा निर्देशक थापा स्वयंको हो ।
निर्देशक थापाले पहिला श्वेतालाई अतिथी भूमिकाका लागि एउटा फिल्म अफर गरेका थिए । तर, उनले उक्त फिल्म गर्न अस्वीकार गरेपछि यमले नयाँ कथा सुनाएका थिए । श्वेता भन्छिन्, ‘कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ । कोरोना महामारीपछि यही फिल्म गर्नेछु । यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु । अहिले कथामा काम हुँदैछ ।’
निर्देशक यम थापा बेनामे फिल्ममा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा छन् । उनी अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन । डेब्यू फिल्म ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक भिन्न भूमिकामा हेर्न निकै रोचक हुने देखिन्छ । उनी पनि फिल्मलाई लिएर उत्साहित छिन् ।

